रेणु यादवले त्यागिन् पार्टीका सबै जिम्मेवारी

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवले पार्टीका सबै जिम्मेवारी परित्याग गरेकी छिन्।

इच्छाविपरीत भर्खरै मन्त्रीबाट फिर्ता बोलाइएकी यादव पार्टी आन्तरिक विवादमा फसेका बेला पार्टीका जिम्मेवारीबाट हटेकी हुन्। उनले विज्ञप्ति जारी गरेर पार्टीको जिम्मेवारी नलिएको बताइन्।

जसपामा उपेन्द्र यादप र बाबुराम भट्टराई पक्षबीच विवाद हुँदा पार्टी विभाजनको अवस्थामा पुगेको छ। त्यही बेला यादवको पद त्यागलाई महत्वका साथ हेरिएको छ।

‘विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पड्यन्त्रका सिकार भइरहँदा पनि आफू विचलित नभई सदैव मधेस र मधेसी जनतालगायत सम्पूर्ण उपेक्षित वर्ग र समुदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ, यादवले अगाडि भनेकी छिन्,

‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु।’

असार ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्