गोसाइँकुण्ड। फाइल तस्बिर।

रसुवा – साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ।

समुन्द्र सतहदेखि ४ हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन्।

गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर पवित्र तीर्थ स्नान गर्ने चलनसमेत रहिआएको छ। यो महिनाभर पवित्र तीर्थमा स्नान गर्ने भक्तजनको शरीरिक रोगब्याद पूर्णरूपमा हट्ने विश्वासका साथ भक्तजन साउन महिनाको शुभारम्भबाटै गोसाइँकुण्ड जान थालेको स्थानीय भक्तजन बताउँछन्।

दैनिकरूपमा १०/१५ जना भक्तजन नीलाद्रि पर्वतको धार्मिक मार्गमा ओहरदोहर हुन थालिसकेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामा बताउँछन्। साउन महिनाभर गोसाइँकुण्ड दहमा स्नानका साथै पूजा आराधना गर्नाले मनोकाङ्क्षासमेत पूरा हुने मान्यता रहिआएको छ। धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नै पर्छ।

धुञ्चेसम्म मोटरले पुर्‍याएपश्चात् सुरू हुने पदयात्रा देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक हुँदै गणेश गौडासम्म उकालो र त्यसपछि ककरो भीर हुँदै पवित्र तीर्थ पुगिन्छ। हाल ककरो भीरको पूरै भागमा नेपाली सेनाले फलामे बार लगाइदिएका कारण भीरमा लडिने डर पूर्णरूपमा अन्त्य भएकाले निर्धक्क साथ जान सकिने पुरोहित टङ्कप्रसाद ढकालले बताए।

यस वर्षको जनैपूर्णिमाको प्रमुख दिन भने यही साउन २७ गते परेको छ। साउन २३ गते पुत्रदा एकादशीदेखि गोसाइँकुण्डमा पाँच दिन ठूलो भीड लाग्ने र करिब १५ हजार भक्तजनले स्नान गर्ने स्थानीय अनुमान रहेको छ।

साउन २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्