प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षायाममा हुने सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध अनुरोध गरेकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले वर्षायामको सुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले भनिन्, ‘अझै पनि केही ठूलो दुर्घटना भएमा यसको टालटुले समाधानको लागि निर्देशन गरेको सुनिन्छ। वर्षायामको सुरुवातसँगै दुर्घटनामा वृद्धि हुँदै दशैँ, तिहारसम्म यसको उच्च बिन्दुमा पुग्छ। यस साझा सामाजिक र जनस्वास्थ्य समस्याको दिगो समाधानका लागि केन्द्र वा संघ कुन निकाय जिम्मेवार हो? त्यसको संरचनागत प्राविधिक क्षमता के छ? प्रदेशस्तरमा सडक दुर्घटना रोक्न कुन–कुन निकाय जिम्मेवार छन्? तिनका कार्यरत जनशक्ति, प्राविधिक क्षमता, आवश्यक स्रोत व्यवस्थापनको स्थिति के छ? के ले अवरोध गरिरहेको छ? यी प्रश्नहरुको अविलम्ब उत्तर आउने गरी आगामी दशैँ, तिहारमा दुर्घटना कम भएको महसुस हुने गरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्दछु।’

प्रतिनिधि सभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को संगठन बनाउन लाग्न आग्रह गरिन्। उनले भनिन्, ‘राष्ट्र बैंकको गर्भनरलाई कानून र नैतिकताको प्रश्न उठ्नबित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो।’

प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरी सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले बजारका नाफाखोरहरुलाई सरकारले नियन्त्रण लिनु आवश्यक रहेको बताए।

उनले भने, ‘सरकारले चनाखो भइ बजारमा नाफाखोरहरुलाई कन्ट्रोल गर्नु आवश्यक छ भने अर्कोतर्फ सबै सचेत जनताले खर्च कटौती गर्न अति आवश्यक छ। सबैले सरल जीवन बिताऔँ। सार्वजनिक यातायात प्रयोग गरौँ। महँगो पेट्रोलियम पद्धार्थ र सवारी चालकको खर्च कटौती गरौँ।’

प्रतिनिधि सभा सदस्य दीपकप्रकाश भट्टले गेटामा प्रस्तावित मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरी सो पूर्वाधारमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘गेटामा प्रस्तावित भएको मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरीकन त्यहाँ ८० विगाहामा तयार रहेको पूर्वाधारमा अब राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनाका लागि म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले दूरदराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमा आईसीयु र भेन्टिलेटर सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘दूर दराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमै आईसीयु र भेन्टिलेटर सञ्चालन गर्नका लागि यथाशिघ्र सञ्चालन गर्नका लागि सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।’

प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले न्यायालयको न्याय सम्पादन गर्ने शैली पुरानो भएकाले न्यायमा जनताको पहुचँ पुग्न नसकेको बताइन्। उनले उच्च स्तरीय न्यायिक सुधार आयोग गठन गर्न माग गरिन्।

उले भनिन्, ‘अदालतको पुनःसंरचना अहिले पनि हुन सकेको छैन। गणतन्त्र आइसक्दा पनि पुरातन शैलीबाट न्यायलय चल्नु यो गणतन्त्रको उपहास भएन र? संविधान पुनर्लेखन हुँदा पनि न्यायलयले न्याय सम्पादन गर्ने शैली पुरानै भइराखे न त जनताको पहुँच न्यायमा पुग्न सक्छ, न त जनमूखी न्याय जनताले पाउन सक्छन्। यसको दिगो समाधान भनेकै संविधानको अविलम्ब कार्यान्वयन गर्न, स्वतन्त्र न्यायपालिका बनाउन र एउटा उच्च स्तरीय न्यायिक सुधार आयोग गठन गर्न अपरिहार्य देखिन्छ।’

प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली स्नेहीले समाजमा पछि पारिएका समुदायलाई समयमै न्याय दिलाउनका लागि तत्काल उच्चस्तरिय न्यायिक सुधार आयोग गठन गर्नुपर्ने बताए। उनले भने, ‘पहुँचयोग्य, स्वतन्त्र, निष्पक्ष, र नेपाली समाजको पिँधमा रहेका नेपाली समुदायहरुलाई पनि समयमै न्याय दिलाउनका निम्ति नेपाल सरकारले तत्कालै उच्चस्तरीय न्यायिक सुधार आयोग गठन गर्न जरुरी छ।’

साउन ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्