नगर प्रहरी क्विक रेस्पोन्स टिमका ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा

काठमाडौँ – ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ।

बिहीवार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय बाइक
सञ्चालनमा ल्याएको जानकारी गराएको हो।

नगर प्रहरीले महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर
महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा
गरे।

उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गरे। उनले क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताए।

नगर प्रमुख महर्जनले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्त्व राख्ने भएकोले सानो काम भए पनि महत्त्वपूर्ण काम गरेको उल्लेख गरे।

पाटन सहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्त्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको बताए।

प्रमुख महर्जनले महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको पनि बताए।

पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने उनको भनाइ छ।

साउन ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्