ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख

काठमाडाैँ- सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ।

मलामी पुगेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।

नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए।

गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका-१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका-९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्र्याक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए।

यस्तै, बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताए।

गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले जानकारी दिए।

४४ जना मलामी बोकेर फर्किँदै गरेको को २ त ३९६१ ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो।

साउन ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्