काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्।
युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो।
संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश त बेच्यौ अब के नागरिकताको पालो हो? देशलाई फिजीकरण गर्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
लामो विवाद र छलफलपछि संसदले नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक पारित गरेको थियो। प्रतिनिधिसभाको बैठकले संविधानमा भएको व्यवस्थालाई जस्ताको त्यस्तै संशोधन विधेयकलाई पारित गरेको हो।
नागरिकता संशोधन विधेयक पारित भएसँगै जन्मसिद्धका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने कानुनी बाटो खुलेको छ।