झुक्याएर गयौ पंकज!

भलिबल र फुटबलको राम्रो खेलाडी पंकज र म नेपाल ल क्याम्पसमा बीएल पढ्दा आजभन्दा करिब ४० वर्ष अगाडिदेखि निरन्तर सँगै थियौँ। बीएलपछि उनी अदालतमा जागिर खान थाले। म भने एमए गर्न कीर्तिपुर जाँदा उनकी श्रीमतीसँपग सहपाठी भएँ। यसले गर्दा हामीबीच पारिवारिक घनिष्ठता पनि स्थापित भयो।
प्रहरी सेवामा निरीक्षकका रुपमा प्रवेश गरेदेखि आधारभूत तालिमका क्रममा पनि उनको र मेरो बेड सँगै थियो। सम्बन्ध झन्झन् गहिरिँदै गयो। सँगसँगै बेड परेपछि कसैले भेट्न आउँदा ल्याएको खानेकुरा एकापसमा बाँडीचुँडी खान्थ्यौँ। कहिले उनलाई ल्याइदिएको खाना म पनि खान्थेँ, कहिले मलाई ल्याइदिएको खाना उनी पनि खान्थे।
आधारभूत तालिम अवधिभर उनले कहिले पनि शारिरीक अस्वस्थताको अनुभव गरेनन्। कहिलेकाहिँ सामान्य पेट दुखेर प्रहरी अस्पताल गएको मात्र सम्झना छ। मिर्गौलामा पत्थरी भएको समस्या भने पछि सुनाएका थिए।
आधारभूत तालिमका क्रममा परेडमा प्रथम भएकाले उनको पोस्टिङ काठमाडौँमै भयो। म विराटनगरतर्फ लागेँ। उनको घर पनि पूर्व (इलाम) भएकाले हाम्रो पारिवारिक घनिष्ठता झनै बढेर गयो। त्यतातिर नजिक पुगेका बेला म कहिलेकाहिँ उनको पुर्ख्यौली घर गइरहन्थेँ। मेरो जागिरको अधिकांश समय पूर्व क्षेत्रमै बित्यो भने उनी चाहिँ पूर्वमा विरलै बसे।
हामीले २०७४ साल चैत ३० मा सँगसँगै एआइजीका रुपमा सेवाबाट अवकाश पायौँ।

साथीभाइका रुपमा हाम्रो सम्बन्ध जहिल्यै अविच्छिन्न रह्यो।
पछिल्लो समयमा उनी हेडक्वार्टरमा कार्यरत छँदा म हेटौँडामा एआइजीका रुपमा खटिएको थिएँ। हेडक्वार्टरमा प्रहरीको १५ वटा नयाँ गाडी आयो। उनी गाडी इस्यु गर्ने ठाउँमा थिए। पंकजले मलाई सोधे- तिम्रो मातहतको युनिटमा कहिँ दिनुपर्छ?
मैले भनेँ- सक्छौ भने म जन्मेको तथा पढेको ठाउँ चितवनको चनौली बजारमा प्रहरी भवन भर्खरै निर्माणाधीन अवस्थामा छ। त्यहाँ देऊ।

उनले भोलिपल्ट नै चनौली इलाका प्रहरी कार्यालयको नाउँमा नयाँ पिकअप पठाइदिए।
दुर्भाग्यवश, त्यो गाडी दुई महिनामै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख मल्ल थर भएका अधिकारीले आफू चढ्नलाई ताने। यसबारे मलाई पछिसम्म पनि स्थानीयले गुनासो गरिरहन्थे।
गएको अंग्रेजी वर्षको डिसेम्बर मध्यतिर हामीलाई बिबाहमा भारतको जयपुर जानुपर्ने निम्तो आयो। हामी निमन्त्रणा मान्न सपरिवार जयपुरको एक साताव्यापी यात्रामा निस्क्यौँ। बिबाहका सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सक्रिय भयौँ। एक साँझ जयपुरी खानाको भोजनगृह ‘चौखी धानी’मा स्थानीय राजस्थानी खाना खाने मौका मिल्यो।

पछिल्लो तीन महिनामा हाम्रो भेटघाट तीव्र रुपमा भइरहेको थियो। यद्यपि हामी एकअर्काको बसाइ उत्तरदक्षिण नै थियो। स्थानीय तहको चुनावताका उनीसँग गैरीधाराको एलिस रेस्टुरेन्टमा सँगसँगै दिउँसोको खाना खाने मौका मिलेको थियो। संयोगवश काठमाडौँ महानगरपालिकाका अहिलेका मेयर बालेन्द्र शाहसँग पनि त्यहाँ भलाकुसारीको मौका पाएका थियौँ। लगत्तै टोखास्थित अर्गानिक फार्म गएका थियौँ।

त्यसपछि पनि उसको र मेरो घरमा अरु साथीहरुसहित पारिवारिक जमघट भएको थियो। त्यसैक्रममा परिवारसहित कालिञ्चोक मन्दिर जाने कुरा गर्दा उनले हिँड्न नसक्ने भनेपछि मैले पनि कार्यक्रम रद्द गरेको थिएँ।

पछिल्लो १५/२० दिन अगाडि उनी पारिवारिक घर इलाम गएका थिए। हाम्रो फोनमा दैनिकजसो कुराकानी भइरहन्थ्यो। धेरैजस्तो हाम्रो विषयबस्तु खानेकुरामा नै केन्द्रित हुन्थ्यो। चिया र हाटबजार गएको विषय पनि बढी नै हुन्थ्यो। करिब ८/१० दिनपछाडि खोकी लागेर काठमाडौँ फर्कनुपर्ने कुरा गरेका थिए। मलाई भद्रपुरबाट टिकट मिलाइदिन भनेको थियो। करिब ३ बजेतिर उनी काठमाडौँ अवतरण भयो।
काठमाडौँ आएको दुई दिनपछि प्रहरी अस्पताल भर्ना भएको कुरा भोलिपल्ट बिहान फोनमा सुनाए। म तुरुन्तै अस्पताल गएँ। उनी सामान्य अवस्थामा नै थिए। त्यहाँ करिब ४/५ घन्टा कुराकानी भएको थियो। त्यो नै हामीबीचको अन्तिम कुराकानी बन्न पुग्यो। अस्पतालमा हुँदा पनि जिस्किरहन्थे। जिस्किँदा जिस्किँदै एक दिन जीवन नै उनीसँग जिस्किदियो र पंकज हामी सबैलाई झुक्याएर कहिल्यै नफर्कने बाटो लागे।
अलबिदा पंकज। हामी तिमीलाई सम्झिरहनेछौँ।
(अवकाशप्राप्त एआइजी पंकज श्रेष्ठको १२ औँ दिनको पूण्यतिथिमा अवकाशप्राप्त एआएजी केशरीराज घिमिरेले यो लेख लेखेका हुन्।)