विश्व बाघ दिवस

नरभक्षी बाघ समात्न चितवन राष्ट्रिय निकुञ्जमा ६ दिन डुल्दा…

२०७७ असोज १२

चितवन सौराहामा प्राइभेट हात्तीका माउते बभना चौधरी सबेरै हात्तीका लागि घाँस काट्न छेउकै कुमरोज सामुदायिक वनतिर लागे। बिहानको आठ बजेतिर आफ्नै सुरमा घाँस काट्दै गएका उनले केही मिटर पर बाघले साम्बर (जरायाे) मारेर खाइरहेको थाहा पाएनन्। घाँस काट्दै जाँदा उनी नजिकै पुगेछन्। उनलाई बाघले तानेर लियो।

क्षणभरमै नजिकै रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा त्यसको खबर पुग्यो। कोषका संरक्षण अधिकृत आशिष गुरुङका अनुसार घटनास्थलमा पुग्दा आधा खाएको साम्बर थियो। त्यसको केही पर चौधरीको लास। बाघले चौधरीलाई मारेको मात्र थियो, खाएको थिएन।

कुमराेज सामुदायिक वन।

यो एक दुर्घटना हो, साम्बर खाइरहेको बाघको नजिक घाँस काट्दै गरेका चौधरी पुगे, आत्तिएर बाघले आक्रमण गरेको टोलीले निष्कर्ष निकाल्यो।

चौधरीको लास निकालेर साम्बरको वरिपरि क्यामेरा राखेर टोली घर फर्कियो। भोलिपल्ट गएर क्यामेरामा हेर्दा राति आएर बाघले साम्बर तानेर लगेको देखियो।

त्यसपछि कोष तथा निकुञ्जले क्यामेराको माध्यमबाट यसको निगरानी थालेको थियो। राप्ती नदीलाई आधार बनाएर बाघ घुमिरहन्थ्यो। पश्चिममा सौराहा ड्याममा जोडिएको राप्ती नदी र पुर्वमा कुमरोज सामुदायिक वनमा रहेको सिमरही पोष्टको बीचमा बाघ डुलिरहन्थ्यो। कहिलेकाहीँ कोषको कार्यालय भन्दा करिव ५० मिटर दक्षिणकाे ढुंग्री खोलाको छेउको बाटोमा पनि देखिन्थ्यो।

बाघ घुम्ने क्षेत्र।

चौधरीलाई आक्रमण भएपछिका दुई वर्षमा दुईटा अरु घटना घटे जसमा दुई जना घाइते भए। तर, यही बाघले आक्रमण गरेको भन्ने प्रमाण भेटिएन। केही दनपछि कुमरोज सामुदायिक वनमै मान्छे हराएको खबर आयो। खोज्दै जाँदा ४ दिनपछि कंकाल भेटियो। बाघले आक्रमण गरेको हो भन्ने अनुमान हो तर प्रमाणित हुन सकेन।

२०७९ वैशाख १८

कुमरोज सामुदायिक वनमै घाँस काटेर फर्कंदै गरेका स्थानीय नारायण दाहाललाई बाघले तानेर लग्यो। अबचाहिँ यसलाई जसरी पनि समात्नुपर्छ भन्ने निष्कर्ष सबैको थियो। वन्यजन्तु प्राविधिकको टोलीले दाहाललाई आक्रमण गरेकाे ठाउँ नजिकै बेट (बाघको लागि राखिने आहारा पाडो, बाच्छो अन्य जनावर) बाँध्यो। बाघले पाडाे मार्‍याे। भोलिपल्ट गएर पाडाे बाधेकाे ठाउँलाई केन्द्र बनाएर प्राविधिककाे टाेलीले भिद (बाघ भएको ठाउँलाई वरिपरिबाट घेर्ने सेतो कपडा) लगायो। डार्ट (बेहोस बनाउन बन्दुकबाट प्रहार गर्ने सुइ) गरी २० गते समातेर ल्याए।

कोष र निकुञ्जका डाक्टरहरूले हेर्दा बाघका चारवटै दाह्रा खिइसकेको थिए। नंग्रा भाचिएका थिए। बाघ मोटोघाटो थियो। यस्तो बाघले धेरै मान्छेलाई आक्रमण गर्न सक्छ भन्ने मान्यता छ। तैपनि अहिलेसम्म भएका सबै घटनालाई दुर्घटना मान्दै सबैको सुझाव र सहमतिमा बाघलाई छोड्ने निर्णय भयो।

बाघ १२ वर्ष जतिको थियो। यसलाई जोखिमपूर्ण उमेर समूह मानिन्छ। बुढो बाघहरु सजिलो आहाराको खोजीमा हुन्छन्। जसले मान्छेलाई नै ताक्न सुरु गर्छ।

छोड्ने तर स्याटेलाइटबाट निगरानी गर्नको लागि कलर जडान गरियो। जसले दुई–दुई घण्टामा बाघको लोकेसन फाल्थ्यो। गाउँ आसपास आउने थालेमा सतर्क गराउने र मान्छेलाई आक्रमण थाले फेरि समात्न परे सजिलो हुन्थ्यो।

२०७९ वैशाख २१ गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम बेल्ट नारायणी नदी छेउको देवी ताल नजिक लगर उसलाई छोडिएको थियो। औषधिले लठ्ठिएकाे बाघलाई आराम हाेला र शिकार गर्नपनि सजिलाे हाेला भनेर तालकाे छेउमा छाेडेकाे गुरुङले बताए।

बाघ समातेर निकुञ्जकाे देवी ताल क्षेत्रमा छाेडिएकाे थियाे।

एक हप्ता तालकै छेउछाउ रहेको बाघ ३६ घण्टामा राप्ती नदीलाई आधार बनाएर एकै पटक जहाँ समातेको त्यही आइपुग्यो। अब यसलाई समातेर थुन्नुपर्छ भन्ने निष्कर्षमा सबै पुगे र समात्ने प्रयास सुरु भयो।

असार २५ गते

रातभरि ठूलो पानी पर्‍यो। बिहान उठ्दा दक्षिण पर्साको चुरे हुँदै आएको बादल सौहारामा पानी पार्दै भरतपुर तिरको यात्रामा थियो। काठको घरबाट आँखा मिच्दै बाहिर निस्किए। सिमसिम पानी परिरहेकै थियो। ढोका अगाडि दुईवटा केटीहरू (गैँडाका बच्चा) पुष्पा र अञ्जली चरिरहेका थिए। अघिल्लो दिन नै तिनलाई देखेकाले र तिनिहरूको बानी थाहा पाएकाले खासै डर लागेन तर मन गद्गगद् थियो। उठ्नेबित्तिकै ढोकाअगाडि आँगनमा गैँडा खेलिरहेका थिए। म यो कहाँ छुजस्तो लाग्यो।

‘दाइ उठ्नुभयो,’ सँगै गएका केशव अधिकारीले चरिरहेका गैडाको फोटो खिच्दै भने। मुसुक्क हाँसेँ। भित्र गएर मोबाइल ल्याएर मैले पनि फोटो खिचेँ।

रातभरि हामी सुतेको नजिकै सुतेका एक हुल बँदेल परको झाडीमा घुँ घुँ गर्दै बुर्कुसी मार्दै थिए। हाम्रो ढोकाअगाडि रातभरि सुतेको चित्तलका बथान बदेलसँगै कोही चर्दै थिए, कोही सिङ बजार्दै थिए। छेउमै एक जोडी मजुर आहाराको खोजीमा भौँतारिहेको थियो।

‘नास्ता रेडी छ,’ हामी बसेको पछाडिको चमेना गृहका दाइले नजिकै आएर भने। सात बज्न लागेको थियो। झँल्यास सम्झिए आहो ! हामी त निस्कनु छ। सुतिरहेको प्रकाश भाइलाई उठाएँ। साढे सात बजेतिर हामी बसेको राष्ट्रिय प्रकृति कोषको मुख्य कार्यालयतिर लाग्यौँ।

पानी पर्न रोकिइसकेको थियो। घाम बादलको घेराबाट फुक्त उम्केर झुल्कने प्रयास गर्दै थियो। असार महिनाको बादल पनि के कम, पूरै आकाश ढाकेर बसेको थियो।

बायाँबाट: केशव अधिकारी, तिर्थ लामा, म, टीका थारु, र प्रकाशचन्द्र जिम्बा।

तीर्थ लामा, टीका थारू लगायतको टोली स्टेलाइट ट्रयाकरमा बाघ कता छ भनेर हेर्दै थिए। हरेक दुई घण्टामा स्टेलाइटले बाघको लोकेसन फाल्दो रहेछ। बाघ बाक्लो झाडीमा छ वा मौसम खराब छ भने स्टेलाइटले पोइन्ट फाल्दो रहेनछ। रातको दुई बजेपछि पोइन्ट नफालेका कारण समात्न जाने अलमलमा थिए र आठ बजे लोकेसन फाल्ने आशमा बसेका थिए।

बाघ समात्ने भेटरान बिष्णु लामा र उनका भाइ हर्क लामा आइपुगे। केहीबेरमा कोषका भटेरेनरी डाक्टर अमिर सडौला र किरण रिजाल पनि आइपुगे। सबै आठ बजेको लोकेशन आयो भने कुदिहाल्ने योजनामा थिए।

बायाँ हर्क लामा दायाँ बिष्णु लामा

आठ बजेको लोकेसनले बाघ कोषको कार्यालयदेखि करिब ७ सय मिटर दक्षिण पश्चिम इचर्नी खोला पारिको झाडीमा रहेको देखायो। राति दुई बजे पनि त्यही आसपास देखाएकाले टोली लगभग सबै तयारी अवस्थामा थियो।

दुईवटा जीप कोषको कार्यालय अगाडि आएर रोकिए। एउटामा स्ट्रेचरमा थियो। अर्कोमा फलामको खोर। बाघ बोक्नको लागि स्ट्रेचर राखेको जीपमा भिद (बाघ भएको ठाउँ घेर्ने सेतो कपडा) राखियो। तिर्थ लामाले डार्ट गन (बाघलाई बेहोस बनाउन सुइ प्रहार गर्ने बन्दुक) ल्याएर सफा गर्न थाले। लामो समय काम गरेर रिटायर्ड भएका बिष्णु लामा र हर्क लामाले छेउमा उभिएर हेरिरहेका थिए। बिष्णु र हर्क दुई भाई हुन् भने तिर्थ हर्कका जेठा छोरा हुन्।

रुखमा बसेका तिर्थ लामा र उनका ठुलाे बुवा बिष्णु लामा।

२०२९ सालदेखि बाघ समात्ने काममा लागेका बिष्णुले आफ्नो भाइ हर्कलाई २०३२ सालमा ल्याए भने हर्कले आफ्नो छोरालाई यो काममा २०५७ सालमा ल्याए। बिष्णु र हर्क रिटायर्ड भइसकेका छन् तर कहिलेकाहिँ बोलाएमा आउँछन्। कोषमा अहिले तिर्थ लामा र बर्दियाका दीप चाैधरी दुईजना डार्ट गर्ने प्राविधिक छन्। दीपु बिदा लिएर बर्दिया गएकाले बाघ समात्ने जिम्मा तिर्थ लामाको हातमा थियो।

कोषका ४ वटा हात्ती कार्यालय भन्दा दक्षिणको जंगलको बाटो हुँदै राष्ट्रिय निकुञ्जको हात्तीसार पुगिसकेका थिए। हामी दुईवटा जीपमा चढेर कोषको गेटबाट दायाँ मोडियौँ। कोष र सरकारी गरेर १० वटा हात्ती तयार अवस्थामा थिए।

डाक्टर किरण रिजालले सबै माउते र प्राविधिकलाई कसरी अगाडि बढ्ने योजना सुनाए। करिब ९ बजेतिर १० वटा हात्तीको समूह हात्तीसार भन्दा तलको सानो खोल्सा तरेर काँसघारीमा अघि बढ्यो। प्रकाश र केशव उनीहरुसँगै गए।

दाेस्राे दिन बाघकाे लाेकेशनतिर जाँदै प्राविधिककाे टाेली।

केही पर दुई महिला र एक पुरुष घाँस काटिरहेका थिए। ‘कहाँ जान थालेका ?’ हात्तीको बथानतर्फ इसारा गर्दै उनीहरूले सोधे। ‘बाघ समात्न, ऊ त्यो परको झाडीमा छ रे मान्छेलाई आक्रमण गर्ला भनेर समात्न लागेको तिर्थका कान्छा भाई, हर्कका कान्छा छोरा गणेश लामाले भने।

ओहो ! जाउँ हिँड् बुढा घर ती महिलाले भनेको मधुरो सुने। गणेश र म हात्तीसारमै बसेको किरण रिजालसँगै टोलीमा आएर बस्यौँ। समाते भने किरण रिजालको टोलीसँगै पूर्वतर्फको गैँडा होटलको भित्रबाट बाघलाई ल्याउने योजनाको पछि लाग्ने मेरो योजना थियो।

अघिल्लो दिन शुक्रबार बिहानैबाट बाघको खोजी सुरु गरेका उनीहरू त्यसदिन खालि हात फर्किएका थिए।

१० बजिसकेको थियो। जंगल गएको टोलीबाट कुनै जानकारी आएको थिएन। रुखको छहारीमा सँगै बसेका डा. किरण रिजाल बेला बेलामा हातमा समातेको मोबाइल हेर्थे। म पनि उनको मोबाइलको घण्टी बज्दा उत्सुक हुन्थेँ।

करिब साढे १० बजेतिर जंगलबाट तिर्थ लामाको फोन आयो। जंगलमा बाघ देखिएको तर बाक्लो झाडीमा लुसुक्क पसेको जानकारी उनले किरण रिजाललाई गराए। झाडीमा भिद लगाएर समाउन धेरै गाह्रो हुन्थ्यो। आजका लागि सबैले आश मारिसेकेका थिए।

दक्षिण पश्चिको चुरे हुँदै कालो बाँदल मडारिँदै सौराहाको आकाशतिर आयो। समातेर ल्याएको बाघ राख्ने खोर नजिकै समीको रुखको शितलमा बसेका हामी तितरबितर भयौँ। हेर्दाहेर्दे गड्याङगुडुङ गर्दै जोडको हावासहित पानी पर्‍यो। १२ बजे पानी रोकिनै लाग्दा टोली हात्तीसार फर्कियो।

भोलिको नयाँ लोकेसन र नयाँ योजनाका साथ सबैजना बाघलाई बिर्सिएर आ–आफ्नो काममा लागे।

असार २६ गते

सर आज जाने होइन ? साइकलमा कुदाउँदै आएका लालबहादुर महतराले नरोकिकनै भने। आजपनि हाम्रो छेउमा पुष्पा र अञ्जली चरिरहेका थिए। परको झाडी छेउमा एक हुल चित्तल कान ठाडो पारेर बसेका थिए।

जाने हो ! लोकेसन पत्ता लाग्यो ? मैले सोध्न नपाउँदै उनलाई अलिपरको घरले छेकिहाल्यो।

जाजरकोटका महतरा यहाँ आएको धेरै भएको छैन। उनले पुष्पा र अञ्जलीलाई हुर्काए। शुक्रबार मात्र पश्चिम चितवनको अमलटारीबाट ल्याएको गैडाको १५ दिनको केटो (गैँडाको भाले बच्चा) लाई दुध खुवाउने उनको जिम्मा थियो। र, बेलुका पुष्पा र अञ्जलीलाई दाना खुवाउने।

महतरा सारै मिजासिला। फुर्सद भयो भने हामीसँग गफिन आइहाल्थे। म सधैँ भन्ने गर्थेँ, ‘अरु मलाई थाहा छैन यो केटोलाई पनि पुष्पा र अञ्जलीजस्तै बनाउनु पर्छ।’

ढुङग्री खाेला

हामी ८ बजे कोषको कार्यालयमा पुग्यौँ। तयारी चलिरहेको थियो। बाघको लोकेसन सौराहाको ड्यामबाट देखिने ढुङग्री खोलाभन्दा दक्षिण पश्चिम र राप्ती नदीभन्दा पूर्वको काँसघारीमा थियो। अघिल्लो दिन करिब आठसय मिटर दक्षिण पूर्व देखिएको बाघ अर्कोदिन दक्षिण पश्चिममा देखिएको थियो। चित्तलको सिनोको लागि त्यहाँ आएको रहेछ। करिब ९ बजेतिर निकुञ्ज र कोषका १० वटा हात्ती भिद बोकेर ढुङग्री खोला तरेर अगाडी लम्किए।

हात्ती हराउने घाँसमा बाघको लोकेसन देखिएको ठाउँलाई बीचमा पारेर यताउताबाट हात्तीले घरेर प्राविधिकको टोलीले भिद लगायो। भिदको दक्षिणमा दुईवटा गुठील (भेल्लर)का रुख थिए। एउटामा डार्ट गन बोकेर तिर्थ लामा र क्यामेरा बोकेर केशव अधिकारी चढे। तिनीहरूको भन्दा दक्षिणको सानो झुपिल्लो भेल्लरको रुखमा म चढेँ। म चढेको रुखको तलबाट लिएको भिदले राप्ती नदीसम्म नै घेरिएको थियो।

भिद लगाउने तयारी गर्दै टीका चाैधरी, हर्क लामाकाे टिम।

करिव ११ बजे राप्ती नदीको छेउ हुँदै १० हात्तीले झोर्न (बाघलाई डार्ट गर्ने मान्छेतिर धपाउनु) थाले। पश्चिमबाट धपाउँदै बाघलाई धकेल्दै भिदको दक्षिण पूर्वमा रहेका तिर्थ चढेको रुख नजिक बाघ लग्ने उनीहरूको योजना थियो।

राप्ती नदीभन्दा करिव १०० मिटर भित्र सानो आहालमा सिनो कुरेर बसेको बाघ हात्ती र मानिसको आवाज सुनेर सिनोबाट उठेर पूर्वतिर लाग्यो। राप्ती नदी तर्फको बाहेक सबैतिर भिदले घेरिएको थियो।

लुसुक्क पूर्व लागेको बाघ भिद देखेपछि त्यसको छेउछेउ दक्षिण लाग्यो। बाघ मेरो छेउमा टुपलुक्क आइपुग्यो। भिदभित्र दुईवटा गैडापनि थिए। एउटा गैडा म चढेको रुखतिर घोँक्क घोँक्क गर्दै आएको थियो। त्यसकै पछिपछि बाघपनि रहेछ।

घारीबाट लुसुक्क टाउको निकालेको मैले देखेँ। मतिर के आउला र भनेर तल्लो हाँगामा बसेको माथिल्लो हाँगामा उक्लिए। सुनेको थिएँ- सेतो कपडा देखेपछि बाघ तर्सिन्छ भनेको तर आँखाले नै देखेँ। सेतो कपडा देखेपछि बाघ लुसुक्कै हुँदो रहेछ। अगाडि बढ्नै सक्दो रहेनछ।

मतिर आएको बाघ फेरि जताबाट आएको हो त्यतै फर्कियो। ? मेरो रुखभन्दा पुर्वतिरको झुम्म परेको झाडीतिर लुकेर बस्यो। झोर्दै आएका हात्ती नजिकै आइसकेका थिए। बाघ कसैले देखेको थिएन। मैले देखेको थिएँ तर बोल्न मिल्दैन थियो।

परको रुखबाट तिर्थ दाई कराए। बाघ कता गयो ? उनी बोलेपछि म पनि बोलेँ- ऊ त्यो झाडीमा छ।

झोर्दै आएका हात्तीको अगाडि मानकली लागी। मानकलीमा संरक्षण कोषको हात्तीसारका मुख्य सुकुबहादुर कुमाल, प्राविधिक टीका थारु, र माउते सुरेन्द्र चौधरी थिए। दबेर बसेको बाघ हात्ती नजिकै आएपछि झम्टिन उफ्रियो। हात्ती डराएर कुलेलम ठोक्यो। करिव १५० मिटर पर भाग्यो।

हात्तीलाई झम्टिएको बाघ फेरि मतिर आयो। म र तिर्थ दाई चढेको रुखको बीचको बाटोबाट पश्चिमको सानो झाडीमा लुक्यो। रुखमा बसेर डार्ट गर्ने सम्भावना सकियो।

हात्ती डराउन थालेपछि नडराउने हात्तीमा तिर्थदाईलाई बसाल्ने योजना बन्यो। त्यहाँ भएकामध्ये जुनकली डराउँदैन थियाे र त्यसका माउते प्रभु कछडिया पनि डराउँदैन थिए। नडराउने भएकाले जुनकलीलाई जहाँपनि अगाडी लगाइन्थ्याे। तिर्थदाई त्यसैमा चढे। ८ वटा हात्तीले वरिपरिबाट घेर्दापनि बाट बाहिर निस्किएन। लक्ष्मणगज, प्रकृतिकली बाघ भएकाे झाडी नजिकै गए। बेस्सरी कराए। बाघ लुसुक्क तिर्थ लामाको हात्ती तर्फ देखियो। तिर्थ लामाले डार्ट गरे। डार्ट बाक्लो घाँसमा लुकेको बाघलाई नलागेर घासमा लाग्यो। घ्वाक्क गरेर जुनकलीकै अगाडिबाट उत्तर तर्फ लाग्यो।

डार्ट गर्दै तिर्थ लामा।

भिदले घेरेका कारण बाघ फुत्किएर बाहिर नजानेमा उनीहरू ढुक्क थिए। हात्तीबाटै डार्ट गर्ने भन्दै भिदभित्रै बाघकाे खाेजीमा टाेली उत्तरतर्फ लाग्याे। बाघ पश्चिमकाे झाडीमा लुकेकाे थियाे। छेउमै ढलेकाे भिद उठाएर हात्तीमा चढेका मात्र के थिए टीका चढेका मानकलीलाई फेरि बाघले झम्टियाे। लक्ष्मणगज नजिकै भएकाले बाघ अगाडी बढ्न सकेन। टीका दाइ थाेरैले बचे मानकली  कुलेलम ठाेकर ८ सय मिटर परकाे काेषकाे हात्तीसारमा पुग्याे।

केही बेर आराम गरेर उनीहरू फेरि सबै हात्ती लिएर झोर्न लागे। दुईबजेको स्टाटेलाइटको लोकेसनले पनि बाघ हामी बसेको ठाउँबाट दुईसय मिटर नजिक देखाएको थियो। तिर्थ लामा जुनकलीमा चढे। प्रकाश र केशव अरु हातीमा चढे। म भिदभन्दा बाहिर केही वरको हामीले आराम गरेर चाउचाउ खाएकै नजिकै एउटा रुखमा उक्लिएँ।

गर्मी के हो निधार र ढाडलाइ थाहा थियो। घाटीबाट निस्किएको पसिना ढाड हुँदै खुट्टासम्म पुगेको चाल शरिरले पाउँथ्यो।

राप्ती खोला छेउबाट झोर्दै आएको टोलीले बाघ भेटेन। राप्ती खोलाबाट पारि गइसकेको अनुमान टोलीले गर्‍यो। राप्ती खोलाको बगरमा आलै बाघका पाइला थिए। दुई बजिसकेको थियो। चाउचाउ, बिस्कुट र जुसको भरमा बसेका सबै भोकले थकित भइसकेका थिए।

भिद निकालेर टोली फर्कियो।

असार २७ गते

बाघको लोकेसन रातको दुई बजेपछिको फालेको थिएन। दुई बजेको लोकेशनले अघिल्लो दिनको भन्दा पूर्व ढुङग्री खोलाको दक्षिण बिलाउने घारीमा बाघ रहेको देखाएको थियो।

हिजोको झाडीको सिनो खान आएको हुनसक्ने अनुमान सबैको थियो। तिर्थ लामा र टीका चौधरीले एकपटक सिनो हेर्न जाने योजना बनाए। तिर्थ लामा र म जुनकली मा चढ्यौँ। केशव भाइ र टीकादाई मानकलीमा चढे। नौ बजेतिर हामी दुईवटा हात्ती लिएर बाघको खोजीमा निस्कियौँ। ढुङग्री खोला तरेर पारी लागेको मात्र के थियौँ, ‘बाघ देखियो भने हात्तीमाथी उठेर हानिदिन्छु’ तिर्थ दाइले भन्ने थाले। मलाई डर लाग्न थालेको थियो।

तेस्राे दिन सिनाेकाे आसपास बाघकाे खाेजीमा निस्किएकाे तिर्थ लामा र टीका चाैधरीकाे टाेली। जसमा केसव र म पनि थियाैँ।

फर्कदै थियौँ। टीकाले आलै बाघको पाइला देखे। बाघ त्यो घाँसको मैदानबाट पूर्वको बिलाउने घारीमा पसेको उनीहरूले अनुमान गरे। अफिसमा खबर गरेको अरु आठ वटा हात्ती र भिद ल्याएर टोली आयो।

१२ बज्न थालेको थियो। १२ बजे नयाँ लोकशन फाल्यो भने भिद लगाउने वा लगाइहाल्ने केहीबेर छलफल चल्यो। केहीबेरको पर्खाइपछि टोलीले भिद र हात्ती पर्खदा वनकुखुरा कराएको ठाउँलाई बीचमा पारेर भिद लगायो।

डार्ट गर्नका लागि रुखमा बसेका तिर्थ लामा।

भिदको पूर्वतर्फ भेल्लरको तिनवटा रुखमा हामी चढ्यौँ। अगाडि तिर्थ दाई थिए म र केशव पछाडिको अलग अलग रुखमा थियौँ। भिदमा बाघ थिएन। झोर्दै आउँदा बाघ निस्किएन। टोली फेरि निराश भएर फर्कियो।

खाना खाएर फेरि तिर्थ दाइ र टीका दाई दुईवटा हात्ती लिएर बाघ खोज्न निस्किए। साथमा प्रकाश भाइ गए। ४ बजेतिर गएका उनीहरू साझ करिव ७ बजेतिर खाली हात फर्किए।

असार २८ गते

बाघको लोकेशन पूर्वतर्फ देखायो। त्यो पनि राति दुई बजेकै लोकेशन थियो। इचर्नी खोलाको छेउको झाडीमा बाघ हुन सक्ने शंकामा हात्ती जंगलको बाटो गए। हामी गाडीमा कुमरोज सामुदायिक वनको इचर्नी चेक पोष्ट पुग्यौँ। राति देखिएको लोकेशनमा खोज्ने योजनाका कारण टोली सबै तयारीका साथ गएको थियो।

इचर्नी सामुदायिक वनको समूहले व्यापारिक प्रयोजनका लागि पाँच तलाको भवन बनाएको रहेछ तर त्यो भवन राष्ट्रिय निकुञ्जमा परेछ। अख्तियारमा मुद्दा परेकाले भवन आधा बनेर रोकिएको थियो।

त्यही भवनभित्र भिद र अन्य सामान राखेर टोली लोकेसन देखिएतिर बाघ खोज्न १० वटा हात्ती लिएर हिँड्यो। प्रकाश र केशव उनीहरुसँगै गए। म टावरमै बसेँ। केही पर दुईवटा साना ताल थिए। त्यहाँ वरपर उनीहरूले पाइला हेरे तर कतै नदेखिएपछि उनीहरू १ घण्टामा फर्किए।

बाघकाे खाेजीबाट फर्किएकाे टाेली।

बिहान करिब ९ बजेतिर गएका उनीहरू बेलुका छ बजेसम्म लोकेसन फाल्ने आशमा बसे। हामी पनि उनीहरूसँगै बस्यौँ। कतै झाडीमा बसेको भए स्टाटेलाइटले सिग्नल लिन नसक्ने र तुरुन्त फाल्न नसक्ने भएकाले समास्या भएको थियो। निराश हँदै टोली फर्कियो।

असार २९ गते

झाडीमा रहेको बेला स्टेलाइटले डाटा तुरुन्त नफालेपनि स्टोर गरेर एकैपटक फाल्थ्यो। बाघको लोकेशन आज पनि त्यतै देखायो। टोली हिजोको जस्तै फेरि सम्पुर्ण तयारीका साथ त्यही टावरमा गयो। उनीहरूको साथमा केशव भाइ गएका थिए। बिहान ८ बजेतिर गएका उनीहरुले दिउँसोसम्म केही चालचुल पाएका थिएनन्।

दिउँसोको करिव २ बजेतिर सबै आराम गरिरहेकाे बेला केशवले टावरभन्दा उत्तर तर्फको झाडीमा बाघ देखेछन्। हेर्न जाँदा पोथी बाघ रहेछ। उनीहरूले खोजेको बाघ रहेनछ। खोजेको भाले बाघमा कलरको पट्टा थियो।

बाघ खाेज्न जानु अघि तिर्थ लामालाई माला लगाइ दिदै लक्ष्मणगज।

टोली निराश भैसकेको थियो। तर जसरी पनि समात्नु पर्ने थियो। यसरी धेरै दिन लाग्न सक्ने उनीहरूको अनुमान थियो। त्यसैले त्यसैदिन पाडो किनेर राखेका थिए। तर पाडो चारो हाल्नु परेन।

असार ३० गते

पाडो कहाँ बाँध्ने सल्लाह भइरहेकै थियो। टोली बिहानै हिजो अस्ति गएकै ठाउँ कुमरोज सामुदायिक वनमा थियो।

दिउँसो १२ वजेको लोकशनले बाघ टोलीले खोजिरहेको ठाउँभन्दा पूर्व कुमरोज सामुदायिक वनकै सिमरहनीमा ढुङग्री खोलाको छेउमा देखायो। प्रकाश भाइ टोलीसँगै पहिल्यै गएका थिए। केशव र म भिद् र हात्तीको कस्ने सामान लिन कोषको कार्यालय आएको जिपमा त्यतै लाग्यौँ।

जीप चढ्दै गर्दा एउटा माउतेले भनेका थिए, ‘आज समातिन्छ।’ मलाई अझै शंका लागेको थियो। बाघ कहिले कहाँ देखिन्थ्यो त कहिले कहाँ। हामीपनि समातेर खोरमा थुनेको जसरीपनि खिच्ने भनेर लगातार पिछा गरिरहेका थियौँ।

दुई बज्न थालेको थियो। पानीको बुँदाबादी सुरु भएको थियो। कसरी अगाडी बढ्ने डाक्टर अमिर, तिर्थ लामा र टीका चौधरीबीच सल्लाह भयो। अमिरले डार्टको सुइमा औषधी भरिदिए।

सबैजना हात्तीमा ढुङग्री खोलाको छेउछेउ नै अगाडि बढे। केशव र प्रकाश उनीहरूसँगै गए म भने अमिर डाक्टरसँगै सिमरहनी पोष्टमा पुगे।

ठूलो पानी पर्‍यो। भिज्दै सबैले भिद लगाए। भिदको दक्षिण पश्चिम ढुङग्री खोलाको नजिक तिर्थ लामा रुखमा चढे। हात्तीले झोर्न सुरु गरे। बाघ समात्न लागेकाे हल्ला गाउँमा फिजिसकेकाे थियाे। सिमरहनी पोष्टको छेउमा मान्छेहरू विस्तारै जम्मा हुँदै थिए।

५ बजेतिर कोषको गाडीमा फायर लाइन तर्फबाट हामीले पनि निगरानी राख्दै राउण्ड मार्‍यौँ। दोस्रो पटक राउण्ड मारेर भिदको दक्षिणतर्फ राेकिएकाे मैले बाघ देखेँ। गाडी चलाउने अतिराम तामाङ दाइले पनि देखे। हामीले टीका दाइलाई फोन गर्‍यौँ। उनीहरू बाघ देखिएको तर्फबाट झोर्दै आए। तर बाघ लुसुक्क उम्किएर तिर्थदाई बसेको रुख नजिकै पुगेको उनीहरूले पत्तै पाएनन्।

डार्ट गरिसकेपछि बेहाेस अवस्थामा भेटिएकाे बाघ।

तिर्थ दाइले यसपटक मिस गरेनन्। उनले करिव ६ बजेतिर ढाडमा डार्ट गरे। करिव ८ बजेतरि बाघ खोरमा ल्याएर थुनियो। छेउकै अर्को खोरमा पनि यस्तै समस्याग्रस्त बाघ थियो।

निराश भइसकेका हामी अघिल्लो दिन नै काठमाडौँ फर्कने मनस्थितिमा पुगेका थियौँ। तर होइन भोलिको दिन विचार गरौँ भनेर बसेको समस्याग्रस्त बाघ समात्ने अभियानको एउटा सम्झना बोकेर प्रकाश, केशव र म फर्कियाैँ।

भाेलिपल्ट संरक्षण काेषकाे खाेरमा थुनिएकाे अन्दाजी १२ वर्षकाे भाले बाघ।

तस्बिर: प्रकाश चन्द्र जिम्बा/केशव अधिकारी

साउन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्