अविरल जनसाहित्य यात्रामा डा. आचार्यका कविता

काठमाडाैँ- राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ७० औँ अविरल जनसाहित्य यात्रामा कवि डा. गोविन्द आचार्यका एक दर्जन कविता प्रस्तुत गरिएको छ।

दृष्टविहीन भइकन सिर्जना र प्राध्यापनमा सक्रिय डा. आचार्यले अनुष्टुप, पञ्चचामर छन्दका ‘यस्तो मान्छेको खोजीमा’, मान्छेको वाद मान्छे हो’, यस्तो छ जीवन’, ढोका बन्द किन ?’ र अभाव छैन’ शीर्षकका सुन्दर, सरल, सुबोध्य एवं वैचारिक कविता वाचन गरेका हुन्।

सहयोगी कवि देबु लुइँटेलले पञ्चचामर छन्दको ‘कवि’ शीर्षकको र अनुष्टुप छन्दको ‘नानी हो सपना देख’ शीर्षकको कविता वाचन गरिन्। सहयोगी कवि ज्ञानु विद्रोहीले अनुष्टुप छन्दको ‘बाटो’ शीर्षकको र लोकलयको ‘बनेको बाटो’ शीर्षकका कविता वाचन गरिन्।

कार्यक्रममा नेकपा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले राष्ट्रियता समस्यामा परेको र महँगी बढेको समयमा डा. आचार्यका कविताले जनताका आवाजलाई बुलन्दरूपमा प्रस्तुत गरेको बताए।

उनले राष्ट्रियता र वर्गीयताका पक्षमा दृढताका साथ लाग्न स्रष्टाहरूलाई आग्रह गरे। राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले सिर्जना र वैचारिक यात्रामा घटक सङ्ठनहरू सक्रिय भएको बताए।

वाचित कवितामाथि समीक्षा गर्दै उपप्राध्यापक डा. हरिप्रसाद सिलवालले डा. आचार्यका कवितामा समकालीन अराजकता, बजारीकरण, औपनिवेशिकताका विरुद्धका स्वर सशक्त पाइएको र सबै कविताको अन्तरवस्तु सुन्दर रहेको टिप्पणी गरे।

सङ्घका अध्यक्ष राम विनयले छ वर्ष अगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बीचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एक जना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरेको बताए।

साउन १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्