नेपालमा लोकतान्त्रिक मुलुकको चर्को दबाब र नैतिकताको संकट

भनिएको छ कि, नैतिकताको धरातलमा मात्रै समृद्धि फस्टउँछ। नैतिकतामा सबैको अस्तित्व समान हुन्छ र त्यति नै महत्वपूर्ण पनि। नैतिकतामा राखिने आशाभरोसा भनेको भोलि पनि जिवित रहन सक्नु पर्छ रअरूले पनि खान पाउनु पर्छ भन्ने हो। असल कर्मले सबै चराचरलाई जीवित राख्छ र न्याय फस्टाउन सक्छ।

स्वार्थको अवान्छित विस्तार र अरूको अस्तित्व विघटनले समाजमा नैतिकता हराउँछ। स्वतन्त्रता, न्याय र लोकतन्त्र फस्टाउने आधार पनि नैतिकता (इथिक्स) नै हो। तर लबिङको माध्यमबाट स्वार्थ सिद्ध गराउन सकिने स्वन्त्रता लोकतन्त्रको कमजोरी पनि हो।

नेतृत्वको पद मोह, व्यक्तिमा उर्लिएको धन मोह र शक्ति राष्ट्रमा बिषाक्त भएको ‘स्वार्थ हित’ को प्रतिस्पर्धाले स्वतन्त्रता, न्याय र लोकतन्त्रलाई निमोठ्दै लगेको देखिन्छ।

एमसिसी, एसपिपी, बीआरआई, बीप्पा जस्ता छिमेकीको स्वार्थ विस्तारित सन्धि सम्झौतामा लुछिँदै गएको नेपालको अस्तित्वले विश्व व्यवस्थाको नैतिकतामाथि नै प्रश्न उब्जाएको छ। नेपाल पनि नव-उदारवादी विश्व व्यवस्थाको पिछलग्गु रहँदै आएको छ तर बाह्य ऋण, ब्यापार र बजेट घाटा हेर्दा कहाली लाग्ने अवस्था छ।

यता देशभित्र पनि गठबन्धन, वाह्य प्रभाव र दवावको अनुमोदन, बजेटमा मन्त्री लगायतको दुस्साहस, नागरिकतामा चलखेल, राजनीतिमा नातागोता, प्रहरीमा आफ्ना मान्छे, खाने कुरामा विषादी, व्यापारमा दलाली,  घुसको बिगबिगी, दाइजो मोह, बढदो सम्बन्ध विच्छेद, डोजरे विकास, एनजिओ-आइएनजिओको अनुत्पादक लगानी, एकातर्फी गलत सूचनाको प्रवाह, फोहर मैलामा राजनीति जे देखिएको छ ती सबै अनैतिकताको पराकाष्ठा हुन्।

अनैतिकताको तथ्यलाई नेपालमा व्यक्ति, समाज र नेतृत्वले कुनै न कुनै प्रकारले स्वीकार गर्दै आएको बिषय हो।

अनैतिक धरातलमा अपेक्षित नेतृत्व कसरी हुर्किन सक्छ र समृद्धि फस्टउँछ भन्ने कुरा नेपालको सन्दर्भमा अति संवेदनशील र त्यति नै जटिल बन्दै गएको छ।

समाजको गन्तव्य सम्वृद्धि हो। राजनीतिमा सत्ताबाट बाहिरिनै हुन्न, त्यसो हुनु असफलता हो भन्ने सोच छ। समाजका व्यक्ति व्यक्तिमा धनको जोहो नभए उन्नति सम्भव छैन भन्ने सोचाइ छ। शक्ति राष्ट्रमा आफ्नो सुरक्षामात्रै अरुको सुरक्षा हो भन्ने दानवी भाव छ।

यो बाहेक समाज निर्माणको अर्को सुखद पाटो हुन सक्छ भनेर खोतल्ने कोशिस भएको छैन।यस्तो हीन भावले मानवीयताको गन्तव्य पहिल्याउन सँधै असम्भव हुने देखिन्छ। अहिले मानवीयता संकटमा परेको बेला हो।

नैतिकता (इथिक्स)का इट्टाहरू जोडेरमात्रै आदर्श समाजको निर्माण हुन्छ।यही पृष्ठभुमीमा नेपाली समाजको यात्रासंवृद्धि अनुकुल छ वा छैन भनेर घोत्लिन जरूरी छ।

नेतृत्व

‘असल हुन छाडेर हतारमा ठूलो मानिस बन्ने’अनैतिक बाटो हिंडेका नेतृत्वलाई असफलताले भयानक त्रसित गराउँछ। नेतृत्वले आफ्नो अनैतिक कामबारे राम्ररी बुझेको हुन्छ। कुन हदसम्मको सजाय हुन सक्छ भन्ने पनि बुझेको हुन्छ। ऊ छटपटीमा हुन्छ। निदाउन सक्दैन। राम्रो, नराम्रो के हो भनेर हेक्का राख्न सक्दैन।

परिणाम स्वरूप अनैतिकताको रसातलबाट जोगिन एक पछि अर्को खराव कर्मकालागि झन छल, कपट र साँठगाँठको बाटो हिड्न हतारिन्छ।सत्ता र शक्तिबाट बाहिरिन चाहँदैन।सत्ता र शक्तिमार्फत शक्ति आर्जन गरेको कुख्यात नेतृत्वले समाजलाई झन् समस्याग्रस्त गराइरहेको हुन्छ। नेपालमा यस्ता उदहारण प्रसस्त छन्।

अगुवाहरू आफ्नो फलिफाप भइरहोस भन्ने चाहन्छन्। सोही अनुसार दान, दातव्य, घुष, चाकडी, सहयोगको प्रभावमा परेर वा पारेर प्रभावशाली व्यक्तिलाई ‘आफ्नो मान्छे’ बनाउन कोशिस गर्छन्। यस्तो ‘शुभ-लाभ’ दिन सक्ने मानिसप्रति प्रभावशाली व्यक्ति पनि नतमस्तक रहन्छन्।

यसरी अनैतिक व्यक्ति र नेतृत्वको स्वार्थ कतै न कतै मिलेका हुन्छ। कुकर्मको त्रासलाई हतियार बनाएर यस्ता नेतृत्वहरूबाट विदेशीले पनि मनग्गे लाभ उठाई रहेका हुन्छन; छन्।

असल हुने बाटो लिएका नेतृत्वमा भने यस्तो दानवीय हीन भाव देखिँदैन! यस्तो नेतृत्वले सुनाम, किर्ति र अन्तर आत्माबाट व्यक्त हुने सम्मान र सन्तुष्टिमा सफलता देखिरहेको हुन्छ। भोलीका लागि पनि समाजमा जिवित रहनु पर्छ भनेर आशा गरेको हुन्छ। धन, सत्ता र शक्ति यिनीहरूका लागि गौंण रहन्छन्। समाजले यस्ता आदर्शवान नेतृत्वलाई अमूल्य सम्पत्ति ठानेको हुन्छ। यही नै साश्वत सुरक्षा हो। हतियारभित्र खोजिने सुरक्षाभन्दा केयौं गुना स्थिर र बलियो हुन्छ जन जनको मन भित्र पलाएका विश्वासको सुरक्षा।

समाज

व्यक्ति व्यक्ति मिलेर बनेको संगठन हो समाज।व्यक्तिका सोच, आकाँक्षा र मान्यताले समाजलाई संगठित, निर्देशितर नेतृत्व गरेको हुन्छ।

धन आर्जन, लाभ, भौतिक उन्नतिलाई नै जिवनको अन्तिम लक्ष बनाइएको अवस्थामा समृद्धिका अन्य लक्षहरू गौण हुन पुग्छन्। जोखिम युक्त नै भए पनि छिटो हुने शुभलाभका कारणअनैतिक मार्गमा धेरै मानिसको भिड लाग्ने गर्दछ।

भ्रष्टाचार गरेर होस वा कसैको श्रम शोषण गरेर किन नहोस; संसदमा अनुपस्थित अवधिको पारिश्रमिक बुझेर होस वा अस्पतालमा विरामीहरूको लामो लाईनमा आफन्तलाई लुसुक्क अगाडी पठएर किन नहोस! कर छलेर होस वा नक्कली कागज खडा गरेर; संचारमा एकातर्फी सूचना होस वा कुतर्क; जे गरेर भए पनि धन्दा फस्टाएको हुन्छ!

प्रणाली वदलिए पनि प्रवृत्ति किंचित वदलिएन। त्यसैले सम्वृद्धि त अझै कैयौं कोश दूर देखिन्छ। उल्टै, वाह्य शक्तिको चलखेलले रणभूमीको पूर्वाधार पो तयार हुँदै गरेको देखिन्छ। अतः गलत मार्ग परिवर्तन मात्रै सुरक्षित भविष्यको विकल्प हुन सक्छ।

अरूमाथि पर्न जाने कुनै पनि प्रतिकुल असरको पर्वाह नगरी आफूलाई लाभ हुने गरी जे जस्तो काम गरिन्छ ती सबै अनैतिक हुन् भन्ने मान्यता इमानुयल कान्टदेखि अन्य नैतिकताका पक्षधरहरूले उठाएका छन्। अगाडी भनिएको छ कि- सवैको अस्तित्व स्वतन्त्र छर त्यसैगरी सम्मान हुनु पर्छ। अहित स्विकार्य हुनु हुँदैन। भोलिको समाजमा पनि जिवित रहन सक्ने काम गरेको हुनु पर्छ।

बर्षौं असफल नेतृत्व र प्रवृत्तिको चर्को विरोध गर्ने तर चुनावको मुखमा तिनै असफल नेतृत्व र प्रवृत्तिलाई नै मतदान गरेर शक्तिमा उकाल्ने मतदाताको नियत पनि सम्वृद्धिको एकदमै वाधक छ। यसमा लेनदेनको स्वार्थले काम गरेको देखिन्छ! मत दिने अनि भनसुन गरेर काम लिने मानसिकता प्रवल छ!

कुशासन र भ्रष्टाचार बारे जुन हदमा आरोप प्रत्यारोप चलिरहेको छ त्यो नै अनैतिकताझ्याँगिएको अकाट्य प्रमाण हो। भ्रष्टाचारको आयतन नैतिक, सामाजिक र आर्थिक धरातलसम्म फैलिएको हुन्छ।

राजनीति, प्रशासन र व्यापार भ्रष्टाचारको केन्द्र हुने भए पनि यसको अवस्था गाऊँ गाऊँसम्म फैलिएको छ। सम्वन्ध विच्छेदका बढदो तथ्याङ्कदेखि, अंशबण्डाका विकृत रवैया, दाइजोदेखि डोजरे विकास, चिनजान र नातागोतालाई दिइने प्रथमिकता सबैमा अनैतिकताको चर्को अंश छ। राजनीति र प्रशासनमा इच्छाशक्ति र इमान्दारिताको अभावले गर्दा समाजमा नैतिकता स्खलित हुने क्रम अझ तीब्र भएको हो।

व्यक्ति र समाजको सोचमा रचनात्मक नैतिकताको खडेरी परेको छ। यस्तो अवस्थामासम्वृद्धिको रेखाङ्कन गर्नु असम्भव प्रायः हुन्छ। शुद्धिकरण पनि हसज हुँदैन।

पद्धति

समृद्धिका लागि नेपालले लोकतान्त्रिक पद्धति चाहेको हो। लोकतान्त्रिक पद्धति नैतिकतामा मात्र झ्याँगिन, फूल्न र फल्न सक्छ। तर नेपालमा व्यक्ति, समाज र नेतृत्वमा नैतिकता स्खलित छ। नारामा उरालिएको लोकतन्त्रको कुनै अर्थ हुँदैन। लोकतन्त्रले आम मानिसको जिवनमा परिवर्तनको महशुस गराउन सक्नु पर्छ।

वीपी कोइराला नेपालमा समाजवाद हुर्केको हेर्न चाहेका नेता थिए। उनले जे गर्दागाऊँका किसानको भलाई हुन्छ; नेपालको समाजवाद त्यही हो भनेर भिन्न व्याख्या गरेका थिए। तर नेपाली कांग्रेस नै अनैतिकदलदलमा फसिसकेको छ। वीपी कोइराला नै आएर प्रयाश गरे पनि उद्दार हुन सक्ने देखिन्न। पुराना राजनीतिक दलमा नैतिकता शून्य छ। नेतृत्वलाई जे मन लाग्यो त्यही गर्ने गरिएको छ। कुनै सिस्टमले काम गरेको छैन!

वाह्य प्रभाव र दवाव

नेपालको समृद्धिका लागि लोकतान्त्रिक पद्धति अपनाउन निकट छिमेकी लगायत विश्वका महान प्रजातान्त्रिक मुलुकले सहयोग सल्लाह दिए। यो राम्रो कुरा हो।

परन्तु नेपालको प्रजातान्त्रिक पद्धतिको संस्थागत विकासमाभन्दा आ-आफ्ना सामरिक, शैन्य, सुरक्षा र व्यापारका स्वार्थ रक्षा गराउने दवावमा ती प्रजातान्त्रिक शक्तिहरू एक एक गरेर लागे। भारत, अमेरिका युरोपीयन युनियनको समय समयमा दोहोरिने चलखेल, प्रभाव र दवाव नेपाली स्रोत साधनको सदुपयोगका लागि नित्तान्त कम छन् तर उनीहरूको स्वार्थ अधिक बनेर आएको देखियो र छ पनि।

जनमानसको तहमा यी शक्तिहरू निकै आलोचित छन्। यसले नेपाल, नेपाली जनता, लोकतन्त्र र स्वयं शक्ति राष्ट्रको प्रतिष्ठा जोखिममा पारेको छ। नेपालमा लोकतन्त्र आयो तर सम्वृद्धिको प्रतिफल आएन। त्यसैले यसलाई ‘तयारी प्रजातन्त्र’(instant democracy) पनि भनिन्छ।

वास्तवमा नेपालको समृद्धि र प्रजातन्त्रको विकासमा दाता र प्रजातान्त्रिक शक्ति कै गलत रबैया देखियो। मतदान रचुनाव हुनुमात्र प्रजातान्त्र होइन। नेतृत्वमा पैंतिस-चालिस वर्षदेखि निरन्तरतिनै असफल पात्र र प्रवृत्ति दोहोरिनुमा प्रजातान्त्रिक भनिने वाह्य शक्ति, मतदाता र नेतृत्वको स्वार्थ मेल पनि कारण बनेको छ।

निश्कर्ष

समाजका व्यक्ति व्यक्तिले दायित्व बहन गर्न चुकेको अवस्थामा नेतृत्वमात्रै दोषी हुँदैन। नेपालमा  नैतिकतामा मात्रै बाच्न सक्ने लोकतान्त्रिक पद्धति रोजेर नेतृत्व भने अनैतिक बाटो हिँडिरहेको छ।यस्तो विरोधाभाषको स्थितिमा सम्वृद्धि हासिल गर्ने कुरा सपनामात्रै हुन्छ।

सत्य सूचनाको खडेरी छ। खहरे संचारको वाढिले नेपाली समाज चुर्लुम्म डुबेको छ। बौद्धिक वहसमा काफी विषयान्तर छ। जन जिविका र राष्ट्रिय स्वार्थका सवाललाई पनि बाङ्गोटिङ्गो पारेर हेर्ने, देखाउने गरिन्छ।

किन हामीले हाम्रो मत वदलेर तुलनात्मक रुपले असल नेतृत्व छानेनौं? प्रश्न प्रतेक मतदाता तिर पनि ठोकिन्छ।

आधारभूत जिवन निर्वाहका लागि अपेक्षा गरिने लाभ नराम्रो होईन; स्वावलम्वी हुनु हो तर लुट र अरुको अहितमालक्षित भयो भने त्यो अनैतिक मार्ग हो।

एक अर्काले आरोप प्रत्यरोप गरेका अनैतिक, भ्रष्ट नेतृत्वलाई लोकतान्त्रिक मुलुकले ‘महान लोकतन्त्रवादी’विल्ला भिराएर आ-आफ्ना स्वार्थसिद्ध गर्न लागेको देखिन्छ।

झण्डै आधा शताव्दी लामो विगत नियाल्दा प्रजातान्त्रिक भनिने मुलुकहरूले नै नेपालमाथि चर्को शोषण गरेको देखियो। उनीहरुको प्रजातान्त्रिक आचरणमाथि नै प्रश्न गर्नुपर्ने तथ्य नेपालको अनुभवले उजागर गरेको छ।

प्रणाली वदलिए पनि प्रवृत्ति किंचित वदलिएन। त्यसैले सम्वृद्धि त अझै कैयौं कोश दूर देखिन्छ। उल्टै, वाह्य शक्तिको चलखेलले रणभूमीको पूर्वाधार पो तयार हुँदै गरेको देखिन्छ। अतः गलत मार्ग परिवर्तन मात्रै सुरक्षित भविष्यको विकल्प हुन सक्छ।

@simantablog

साउन १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्