नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण

पूर्वी एसियामा कोरोना प्यान्डेमिककाे नराम्रो प्रभाव

पछिल्लो समय विश्वमा फेरि एक पटक कोरोना प्यान्डेमिकको नयाँ लहर सुरु भएसँगै दक्षिण एसिया र नेपालमा पनि यसको प्रभाव परेको छ।

विश्वका विभिन्न देशमा कोरोना प्यान्डेमिकले फेरि एक पटक आतंक फैलाउने क्रममा पूर्वी एसियालाई नराम्रोसँग प्रभाव पारेको छ।

विश्वको अति विकसित राष्ट्र जापानमा पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो लहर देखा परेको मात्रै होइन, विगतको सबैभन्दा ठूलो लहरभन्दा हाल दुई गुणा ठूलो लहर देखा परी दैनिक २३०००० भन्दा धेरै नयाँ संक्रमण देखा परिरहेको छ भने त्यहाँ दैनिक कोरोना मृत्युमा पनि हाल निकै वृद्धि भई बिगतको जत्तिको नभए पनि नयाँ मृत्यु लहर उत्पन्न भएको छ।

त्यस्तै, दक्षिण कोरियामा पनि सानै भए पनि नयाँ कोरोना संक्रमण र मृत्यु लहर सुरु भएको छ र निकट भविष्यमा यसले ठूलै रुप लिन सक्ने शंका गरिएको छ।

ताइवानमा हालै मात्रै एक महिनाभित्र हालसम्मकै सबैभन्दा ठूलो प्यान्डेमिक लहर आएको थियो जसले निकै ठूलो जनधनको क्षति गराई हाल केही सुस्ताउँदै गएको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्।

जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष लैजानु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण बढ्दै गए पनि हाल केही स्थिर देखिन्छ। दक्षिण एसियाको पछिल्लो दुई महिना सन् २०२२ जुन ८ देखि जुलाई २७ सम्म (५० दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा वृद्धि हुँदै जाने क्रम जारी रहे पनि हाल यो प्रवृत्ति केही स्थिरजस्तो देखिएको छ।

करिब दुई महिनाअघि ५००० जति रहेको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण हाल अधिकतम २३०००नाघेको छ।

त्यस्तै, दैनिक मृत्यु पनि वृद्धि हुँदै गएको देखिएको छ। दुई महिनाअघि ७ जति रहेको दक्षिण एसियाको दैनिक कुल कोरोना मृत्यु हाल अधिकतम ७० नाघेको छ।

दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो दुई महिनाको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति हेर्दा पछिल्लो समय भारतलगायत पाकिस्तान बंगलादेश आदि देशमा दैनिक कोरोना संक्रमण स्थिर देखिन्छ भने नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जुलाई २४ देखि ३० (वि.सं २०७९ श्रावण ८ देखि १४)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.२ मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, श्रावण १४ गते शनिबारसम्म, देशभरि जम्मा २७८१जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९८६१०० पुगेको छ।

गत साताभन्दा अघिको साप्ताहिक नयाँ संक्रमण २०२५ थियो र त्यसभन्दा अघिको साता १०८१ थियो।

त्यस्तै, गत साता नेपालमा कोरोना मृत्यु पनि निकै बढेको पाइयो। चैत ८ मा अन्तिम कोरोना मृत्यु भेटिएकामा दुई हप्ताअघि २ कोरोना मृत्यु भेटिएको थियो भने गत हप्ता साताभरिको कोरोना मृत्यु १२ पुगेको छ।

यसरी हालसम्मको देशको जम्मा कोरोना मृत्यु ११९६६ पुगेको छ। गत हप्ता जम्मा १७२३१ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १३१५६ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ६६.८६% संक्रमण देखियो जुन दुई हप्ताअघि६०.४८%थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ३ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर र नयाँ संक्रमण प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम १२.८४%देखि अधिकतम २०.६२%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १६.१४% रह्यो जुन दुई हप्ताअघि १५.३९% थियो।

नेपालमा तीन हप्तादेखि दैनिक कोरोना संक्रमणमा निकै तीव्र वृद्धि हुँदै गएको छ र यसको पुष्टि माथिका तथ्यांकले गरेका छन्।

चित्र न. ४ले नेपालको दैनिक कोरोना पिसिआर परीक्षण, कोरोना संक्रमण संख्या र कोरोना संक्रमण दर (पोजिटिभिटी %) को प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै डेढ महिनामा नेपालको दैनिक कोरोना संक्रमण संख्या १९ बाट अधिकतम ५२४ पुगेको छ भने संक्रमण दर ०.६७% बाट अधिकतम २०.६२% पुगेको छ।
यसरी नेपालमा हाल कोरोना संक्रमण र संक्रमण दर हरेक दिन गुणात्मक वृद्धि हुँदै गएको छ। दैनिक परीक्षण भने संक्रमण र मृत्युको अनुपातमा वृद्धि भएको देखिँदैन यद्यपि पछिल्लो समय परीक्षणको मात्रा पनि केही वृद्धि भएको देखिन्छ।

त्यसको अर्थ परीक्षण बढाउँदै लाने हो भने वास्तविक संक्रमण संख्या र संक्रमण दर हालको भन्दा धेरै हुने निश्चित छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वमा कोरोना संक्रमण र प्यान्डेमिकको नयाँ र उच्च लहर देखा परिरहेका छन्। यसको असर युरोप, अमेरिकादेखि दक्षिण एसिया र नेपालमा पनि देखिएको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमणमा वृद्धि भए पनि केही हप्तादेखि केही स्थिर देखिन्छ। दैनिक कोरोना मृत्युको प्रवृत्ति भने बढेको छ।

नेपालमा पनि गतहप्ता २०७९ साउन ८ देखि १४, साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दरमा क्रमशः वृद्धि हुँदै जाने क्रम जारी छ।

हरेक हप्ता संक्रमण दरले नयाँ कीर्तिमान बनाई गत हप्ता २०% नाघेको छ जुन करिब ६ महिनापछि पहिलो पटक देखिएको हो। त्यस्तै, हाल नेपालमा कोरोना मृत्यु पनि हरेक दिन देखा परी गत हप्ता १२ मृत्यु देखिनु पनि करिब ६ महिनापछि पहिलो पटक हो।

पछिल्लो समय काठमाडौँ उपत्यकाबाहेक सातै प्रदेशका विभिन्न जिल्लामा संक्रमण देखिन थालेको छ। यसले पनि नेपालमा प्यान्डेमिकको नयाँ लहर सुरु हुन लागेको लक्षण देखाउँछ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात साबुनपानीले राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ।यहाँ नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

साउन १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्