सुरक्षाकर्मी तथा राष्ट्रसेवकले देशको माटो बिर्सेर हो मुलुकको दुर्गति नदेखेको?

विश्वमा मानव सभ्यताको विकासपछि सुरूमै अस्तित्वमा आएको १७-१८ वटा मुलुकहरू मध्ये नेपाल पनि एउटा हो र जतिबेला अहिले महाशक्ति भनिएको मुलुकहरू अमेरिका र भारतसमेत अस्तित्वमा थिएनन्। हिमवतखण्ड, ऋषिमुनिहरूको तपोभूमि, भगवान पशुपतिनाथको देश, विश्वको उच्च शिखर सगरमाथाको देश, भगवान बुद्ध, राजा जनक, सीता, अरनिको र भृकुटीको जन्म भएको देश, वैद्धिक सनातन वेद शास्त्रहरूको रचना भई त्यही वेदबाट आधुनिक विज्ञानको चमत्कार गर्न संसारलाई प्रेरणा मिलाई दिने देश, त्यसैगरी सुरूवाती अस्तित्वदेखि इतिहासमै कहिल्यै पराधीन नभएको गौरवमय परिचय भएको सुन्दर र स्वर्गभूमि नेपाल वि.सं २०७९ मा आइपुग्दा अस्तित्व बचाउको लडाइँमा आइपुगेको छ।

यहाँ विभिन्न वंशहरूले राज्य गर्दै आएको भए पनि ती वंशहरूका विभिन्न शासकहरूले समेत यो मुलुकको चिरहरण हुन दिएका थिएनन्। हुन त जतिबेला पृथ्वीनारायण शाह जन्मिएको समय हाराहारीमै पश्चिमाहरूले नेपालमाथि आँखा नगाडेको भने होइनन्। साथै वि.सं. २००४ सालभन्दा अगाडि भारतलाई उपनिवेश बनाई शासन गरिरहेका अंग्रेजहरूबाटै पूर्वमा टिष्टा पश्चिममा काँगडासम्मको विशाल भूमिलाई वर्तमान नक्शामा खुम्च्याई दिएको भएपनि बाँकी भूमिसहितको नेपाल जोगाउन र हामीलाई नेपाली बनाई राख्न हाम्रा हजारौं पुर्खाहरूले रगत बगाउँदै बलिँदान दिएको इतिहास ताजै छ। वि.सं. २००४ सालपछि स्वतन्त्र मुलुकको रूपमा उदाएको छिमेकी मुलुक भारतका शासकहरुले पनि अंग्रेजकै पथ पछ्याउँदै अनि उनै पश्चिमाहरूसँग मिसिएर हाम्रो स्वतन्त्रता र सार्वभौमिकतामाथि थिचोमिचो गर्दै षड्यन्त्रको तानावाना बुन्दै गर्दाको परिणाम २००७ साल, २०३६ साल, २०४६ साल, २०५२ साल फागुन १ र २०६२-६३ निम्तिएको थियो।

हजारौँ वर्ष अस्तित्वमा रहने अग्राखको रूख बचाउन, बलियो पार्ने र यसलाई चिरकालसम्म मक्किन कुहिन नदिन भित्री भागमा रहेको रातो चुरो हुने गरे जस्तै कुनैपनि मुलुकको अस्तित्व रक्षा, सार्वभौमिकता, स्वाधिनता, अखण्डता र सीमा बचाउने अग्राखरूपी रूख मुख्य रूपमा सेना नै हो र त्यसपछि क्रमशः निजामती र प्रहरी संगठनहरू पनि हो। जनताले स्वस्फुर्तरूपमा युगानुकूल परिवर्तन र विकास चाहनु अनि शासनपद्धति रोज्दै आफै शासक बन्दै नागरिक सर्वाेच्चता कायम हुनु आफैमा नराम्रो होइन। तर, यसैको नाममा मुलुकको अस्तित्व र पहिचान गुमाउँदै दिनानुदिन राष्ट्रघाती कदमहरू अगाडि बढ्दै जाँदा सेना, प्रहरी र स्थायी सरकार निजामती मुकदर्शक हुनु मुलुक र नागरिकको लागि बिडम्बना र दुर्भाग्यको विषय हो। जन्म दिने आमा भन्दा मातृभूमि ठूलो हो भन्ने कुरा नै बिर्सेर विदेशीको षड्यन्त्र, रणनीतिक स्वार्थ र आडभरोषामा जबरजस्ती सत्तासिन हुन पुगेका हाम्रा राजनीतिक दल, नेता तथा अहिलेका गठबन्धनहरूले २०४६ सालदेखि २०७९ सालसम्म आइपुग्दा करिव ८२ वटा राष्ट्रघात गरिसकेका छन्। त्यसको तिथि मिति र प्रमाण यहाँ लेख्दा लामो हुन जान्छ।

यहाँसम्म आइपुग्दा परिवर्तनको नाममा न त नेपालको आफ्नो भन्ने उद्योग, कलकारखाना बाँकी रहे, न त कृषियोग्य भूमि बाँकी रहे, न त मुलुकको शिक्षाको मेरूदण्ड निर्माण गर्ने इतिहास बोकेको जेष्ठ विश्व विद्यालय र मुलुकको कृषि उत्पादनको आधारस्तम्भको रूपमा रहेको एक मात्र कृषि विश्वविद्यालय नै बाँकी राख्दैछन्।

कतिपय मुलुकहरूमा राष्ट्रहित बिपरित काम हुँदा सेना, प्रहरी र सबै राष्ट्रसेवक मिलेर मुलुक बचाएको प्रशस्त उदाहरण पनि देख्न र बुझ्न नसक्नु पनि यो मुलुकको अर्काे बिडम्वना हो। मुलुकभित्र अन्यौल र अस्थिरता देखेर, मुलुक र आफ्नै भविष्य नदेखेर अवसरको खेजी गर्दै मुलुकका साठी लाखभन्दा बढी दक्ष जनशक्तिसहितका होनाहार युवाहरू आ-आफ्ना वृद्ध अवस्थाका बाबु आमा र भर्खर भित्र्याएको श्रीमतीलाई छाडेर विदेशिन बाध्य छन्।

२०५१ सालसम्म खाद्यान्न तथा अन्य थुप्रै उपभोग्य वस्तुहरू प्रशस्तै बाहिर निर्यात हुन्थ्यो अहिले आएर नेपालमा उत्पादित खाद्यान्नले २ महिना पनि पुग्दैन र खाद्यान्न लगायत सबै उपभोग्य वस्तुमा पूर्णरूपमा आयातमुखी भईसकेको छ। न त नदीनाला, प्राकृतिक स्रोतसाधन र वनजंगल नै हाम्रो अधिनमा रहे। न त हाम्रो संस्कृति र सभ्यतासंग सम्बन्ध भएको भाषा, धर्म, संस्कृति र मौलिक पहिचान नै बाँकी रहे। धर्महिन संस्कृतिविमुख र असभ्य बनाएपछि न त नेपाली माटोको विचार र दर्शन नै बाँकी रहे, न त नेपालले बोक्दै आएको विश्ववन्धुत्वको दर्शन नै बाँकी राखे, न त राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनता नै बाँकी रहनेवाला छ! त्यसैगरी अनेकतामा एकता रहेको समाजलाई वहुसंख्यक र अल्पसंख्यकमा विभाजन गर्ने, समानतालाई भन्दा अधिनस्थतामा विश्वास गर्ने, एकीकरण, एकता र अखण्डतालाई भन्दा कलह र विभाजनलाई मलजल गर्ने, आफ्नो पुर्खाको वलिदानलाई, स्वाभिमानलाई र गौरवपूर्ण इतिहासलाई सत्तोसराप गर्ने, चन्द्रसुर्य अंकित राष्ट्रिय झण्डा, राष्ट्रिय पहिचान र चिन्हमाथि सौदाबाजी गर्ने, राष्ट्र निर्माताहरूको योगदानलाइ अपव्याख्या गर्ने, जसले यो राष्ट्रको जग बसाल्यो, पहिचान दियो, सेनाको संगठन स्थापनालगायत मुलुकका सबै प्रशासनिक आधारस्तम्भको निर्माण गर्यो उसैलाई अपमान गर्दै राष्ट्रिय एकता दिवससमेत खारेज गर्ने तर यो देश निर्माणमा कुनै योगदान नभएका विदेशीहरू महात्मा गान्धी, लेनिन्, स्टालिन र माओहरूको तस्बिरहरू देशैभरि टाँगेर र सजाएर सर्वत्र पुज्दै विदेशी भूमिमा विदेशीले दिएको तालिम, हतियार र राशनपानी लिएर नेपाल र नेपाली जनतामाथि धावा बोल्ने, आफ्नै टाउकामा गोली र बम बर्साउने शत्रुहरू अझै भन्नुपर्दा देशै बेच्ने राष्ट्रघाती देश द्रोहीहरूलाई नचिनेर हो कि, मातृभूमिको माटोलाई बिर्सेर हो कि अर्थात विवेक गुमाएर हो उल्टै कडा सुरक्षा दिँदै सलामी र गुलामी गरिरहेको देख्दा सेना प्रहरी र निजामतीप्रति देशभक्त नेपालीहरूको विश्वास टुटेको छ।

आज मुलुकको प्रहरी, निजामती, न्यायमुर्ति र अख्तियारलाई दलहरूले आफ्नो ढोकाको पाले बनाएका छन्। र, सायद संसारमा यस्ता उदाहरणहरू पनि छैन होला, मुलुकमा अहिले मुलुक र जनताको स्वार्थमा काम गर्ने सरकारी निकायहरू पनि सायदै छैनन् होला। आज मुलुकमा न त न्यायकर्मी, निजामती, कर्मचारी, डाक्टर,इन्जिनीयर, प्राध्यापक, शिक्षक र विद्यार्थी नै साझा छन्। कुनैपनि दलको सदस्य नभएको नागरिकहरूपनि कमै छन्। यसरी सदस्य नबने राज्यबाट पाउने न्याय र सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था छ। यसैगरी हिजो राजतन्त्रकालमा राजा महाराजाहरूकै छत्रछायाँमा र आशिर्वादमा हुर्केर पदमा पुगेको सम्पन्नशाली भएका साथै उनै राजा महाराजाहरूले खाएर थालमै छाडेको जुठो खान तछाड-मछाड गर्ने भू.पू तथा बहालवाला सेना तथा प्रहरीका उच्च पदस्थहरू उनै देशद्रोहीहरूले देखाएको पद प्रतिष्ठा र अवसरमा भुलेर बाहिरी आँखा छ। तर, भित्रि आंखाले देश हेर्न सक्दैनन्, कान छ तर मातृभूमिको चीत्कार सुन्न सक्दैनन् र मुख छ तर सत्य कुरा बोल्नसमेत सक्दैनन्। यसको उदाहरण हो मुलुकलाई मार्नेगरी गरिएको दर्जनौ राष्ट्रघाती निर्णय र सम्झौता बारे चुँसमेत नबोल्नु। छिमेकी मुलुकका सेनापतिले नेपालको भूमिलाई उनिहरूको हो भन्ने अभिव्यक्ती दिँदै हाम्रो लिपुलेक लिम्पियाधुरामा बाटो खन्नसमेत आउँछन् तर हाम्राहरू न बहालवाला न त भूपूहरू कोहीपनि बोल्दैनन् यो पनि ठूलो बिडम्बना र दुखत अवस्था हो।

कतिपय मुलुकहरूमा राष्ट्रहित बिपरित काम हुँदा सेना, प्रहरी र सबै राष्ट्रसेवक मिलेर मुलुक बचाएको प्रशस्त उदाहरण पनि देख्न र बुझ्न नसक्नु पनि यो मुलुकको अर्काे बिडम्वना हो। मुलुकभित्र अन्यौल र अस्थिरता देखेर, मुलुक र आफ्नै भविष्य नदेखेर अवसरको खेजी गर्दै मुलुकका साठी लाखभन्दा बढी दक्ष जनशक्तिसहितका होनाहार युवाहरू आ-आफ्ना वृद्ध अवस्थाका बाबु आमा र भर्खर भित्र्याएको श्रीमतीलाई छाडेर विदेशिन बाध्य छन्। यिनै विदेशमा पसिना बगाउनेहरूले पठाएको रेमिट्यान्सबाट मुलुक जेनतेन चलेको छ। नेता, कर्मचारी र सुरक्षा निकायका उच्चपदस्थहरू अकुत सम्पति कमाउने र त्यो पैसा आफ्ना छोरा छोरीलाई बिदेशतिर बोकाएर पठाउने क्रम पनि बढ्दो छ। नेपाल निकट भविष्यमै मित्र राष्ट्र श्रीलंका र युक्रेनको बाटोमा जाने भविष्यवाणीसमेत गर्दैछन विश्लेषक तथा वुद्धिजीवीहरू। तर पनि मुलुकका कुनैपनि निकायको कानमा बतास नलाग्नुले झनै अन्यौलता छाएको छ।

(लेखक पूर्वसुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हुन्।)

साउन १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्