ललितपुरका मेयर महर्जन र आइजिपी सिंहबीच ‘वान वे’ बारे किन भयो चर्काचर्की?

काठमाडौँ – ललितपुर महानगरपालिकामा महानगर प्रहरी र ट्राफिक प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर टसल उत्पन्न भएको छ।

मंगलबार प्रहरीले नख्खु-एकान्तकुनाको वानवे हटाएपछि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आफैँ गएर फेरि वान वे सुरु गरेका थिए। ललितपुर महानगरपालिकाले यसअघि झम्सिखेल,पाटनढोका, पाटन दरबारसहित ७ स्थानमा ‘वान वे’ बनाइसकेको छ।

यसअघि ‘वान वे’ बनाएका स्थानमा प्रहरीले कम हस्तक्षेप गरेपनि मंगलबार नख्खु र एकान्तकुनामा गरिएको ‘वान वे’ हटाएपछि महानगरप्रहरी र ट्राफिक प्रहरीबीचको विवाद चर्किएको छ।
त्यसो त ललितपुर महानगरले ट्राफिक प्रहरी खटिएका चोकमा पनि नगरप्रहरी खटाउँदै आएको थियो।

मंगलबार बिहान १० बजे ट्राफिक प्रहरीले आफ्नो कार्यक्षेत्रमा महानगरले हस्तक्षेप गरेको भन्दै नख्खु र एकान्तकुनामा महानगरले बनाएको वानवे हटाएको थियो।

नेपाल प्रहरीका आइजिपी धिरज प्रताप सिंहकै निर्देशनमा प्रहरीले उक्त क्षेत्रको वान वे हटाएको थियो।

प्रहरीले हटाएको वानवेलाई केही समयपछि मेयर महर्जन नगरप्रहरीसहित गएर उक्त क्षेत्रमा फेरि एकतर्फी मात्रै बनाएका थिए।

सडक वान वे बनाएपछि मेयर महर्जनले देशसञ्चारसँग भने,‘महानगरले गरेको वानवेको निर्णय ट्राफिक प्रहरीले नमान्दै दुईतर्फी बनाएपछि मैले आइजिपी धिरज प्रताप सिंहलाई टेलिफोन गरेँ। दिउँसो साढे दुई बजेतिर टेलिफोन गरेर ‘यो कामबाट कसलाई के हानि भएको छ। कारण दिनुहोस् भनेर सोधेँ। आउनुहोस् बसेर छलफल गरौँ, छलफलको निर्णय म मान्न तयार छु। तर यसरी छापामार शैलीमा काममा बाधा नपुर्‍याउनुस्’ भनेर भनेँ।

महर्जनले थपे,  ‘हामीले सडकमा राखेको वान वेको बोर्ड प्रहरीले छापामार शैलीमा हटायो। बिना जानकारी यसरी हटाउन मिल्दैन। मैले आइजीपीसँग कुरा गरेपछि आफैं आएर पुनः वान वे सुरू गरेको छु। स्थानीय सरकारले गरेको निर्णयलाई प्रहरीले हस्तक्षेप गर्न मिल्दैन।’

‘मैले बोलेको अलि कडै भएको थियो कि!’ महर्जनले देशसञ्चारसँगको टेलिफोन कुराकानीमा हाँस्दै भने।

नख्खु र एकान्तकुनामा वान वे सुरू गरेदेखि दुर्घटना र सवारी जाम नभएको मर्हजनको भनाइ छ।

उनले आइजिपी सिंहलाई आफूले पहिलो पटक ललितपुरमा वान वे नगरेको स्मरण गर्दै सात स्थानमा वान वे गर्दा सुरूमा प्रहरीलाई पत्र पठाएको बताएका थिए।

उनले भने,मीले पत्र पठाउँदा पत्रको केही जवाफ पनि नदिने तर अहिले छापामार शैलीमा साइन बोर्ड र सूचना बोर्ड किन झिक्नुभयो? भनेर आइजीपी सिंहलाई सोधेँ।’

उनले प्रहरीलाई चुनौती दिँदै भने, ‘तपाईंहरूले बोर्ड हटाएको ठाउँमा म आफैं आएर अहिले पुन ‘वान वे’ सुरू गरेको छु। अब चाहिँ नझिक्नुहोला। प्लिज डु नट डिस्टर्ब मी।’

बढ्दो सवारी चापलाई ध्यानमा राखेर ललितपुर महानगरपालिकाले साउन १० गतेबाट नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने र भनिमण्डल चोकबाट नख्खु चोकतर्फ जाने बाटोलाई चार पाङ्ग्रे सवारीसाधनका लागि वान वे गरेको छ।

ट्राफिक विज्ञ, स्थानीयबासी तथा वडा र सरोकारवालाको सुझाव अनुसार एकान्तकुना क्षेत्रमा सवारी आवागमन सहज बनाउन नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने २ सय ७९ मिटर र भनिमण्डल चोकबाट नख्खुचोकतर्फ आउने २ सय ५२ मिटर क्षेत्र एकतर्फी गरिएको मेयर महर्जनले बताए।

महर्जनले आइजिपी सिंहसँग भएको कुराकानीपछि देशसञ्चारसँग भने, ‘मैले उहाँ (आइजिपी सिंह)सँग कुरा गर्दा वान वे हटाएर टु वे बनाउनुपर्ने किन? प्राविधिक रुपमा कैफियत देखाउनुपर्‍यो भनेको थिएँ। तपाईँले गरेको वान वे ठिक छैन भन्ने कारण देखाउन सक्नु पर्‍यो, त्यो भयो भने हामी विचार गर्न सक्छौं,हावाको भरमा बोर्ड हटाईदिनुभयो भनेर भनेँ।’

त्यसपछि आइजीपी सिंहले वान वे बनाउनुभन्दा पहिला महर्जनलाई अनुमति लिनुपर्थ्यो भनेर भनेका थिए।

महर्जनले त्यसको जवाफमा यसअघि सात,आठ स्थानमा वान वे बनाउँदा अनुमति लिनुनपर्ने अहिले किन लिनुपर्‍यो भनेर सिंहसँग प्रश्न गरेका थिए।

महर्जनले ‘यो मेरो महानगर एरिया हो मैले तपाईसँग अनुमति लिने? सुरुमा वान वे बनाउदा खेरि पत्र पठाउँदा त्यसको जवाफ आएन, जवाफ नआएपछि मौनता नै सर्मथन हो भन्ने ठानेर काम सुरु गरेको हो। स्थानीय खुसी छन्, तपाईसँग किन अनुमति लिने’ भनेर प्रश्न गरेको देशसञ्चारसँग बताए।

कुराकानीको अन्त्यमा तपाईँको महानगर हो तपाई आफै निर्णय गर्नुस् भनेर सिंहले मर्हजनलाई भनेका थिए।

ट्राफिक व्यवस्थापनमा फेरि पनि ट्राफिक प्रहरीले हस्तक्षेप गर्‍यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा मेयर महर्जनले भने, ‘स्थानीय सरकार हौँ, डिस्टर्ब सहदैनौँ।’

 

साउन १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्