विराटनगर अस्पतालले निकाल्यो बिरामीको पाठेघरबाट ९ किलोग्राम ट्युमर

मोरङ – विराटनगर अस्पतालले उपचारका क्रममा एक महिला बिरामीको पाठेघरबाट ९ किलोग्राम ट्युमर निकालेको छ।

पथरीशनिश्चरे नगरपालिकाकी ३९ वर्षीया महिला बिरामीको पाठेघर शल्यक्रियाबाट ९ दशमलव २ किलोग्राम ट्युमर सफलतापूर्वक निकालिएको हो।

अस्पतालका प्रमुख एवं डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार बिरामीमा विरलै हुने फाइब्रोड ट्युमर शल्यक्रिया गरी निकालिएको हो।

‘करिब १ घण्टा २० मिनेट लगाएर बिरामीको ट्युमर निकाल्न सफल भयौँ,’ डा. कार्कीले भने, ‘तर यति ठूलो ट्युमर देखेर हामी आफैँ पनि आश्चर्यमा परेका छाैँ। चिकित्सा क्षेत्रको लामो यात्रामा आफूले यस प्रकारको ट्युमर पहिलोपटक देखेँ। बिरामीलाई सहज रुपमा उपचार दिन सफल भयाैँ। खुसीको कुरा हामीलाई यही नै भएको छ।’

दुई वर्षदेखि पाठेघरको समस्याबाट पीडित महिला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिइन्।

कोरोना संक्रमण अघिको नियमित स्वास्थ्य परीक्षणका क्रममा ५ देखि ६ सेन्टिमिटरको मासु पलाएको रिपोर्ट देखिएको बिरामी महिलाका आफन्तले बताएका छन्। कोरोनाका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या आए पनि बिरामीको स्वास्थ्यमा कुनै असर नभएको उनले जानकारी दिए।

यद्यपि, सोही समयबाट बिरामीको पेट अस्वाभाविक रूपमा बढ्दै गएको उनले बताए। यस क्रममा कुनै असहज महसुस नगरेकी बिरामीले शरीर मोटाएको रुपमा लिँदै गएकी थिइन्।

पेट मात्र अस्वाभाविक रुपमा बढेपछि विराटनगर अस्पतालमा परीक्षण गराउँदा करिब ४० सेन्टिमिटरको आकारमा ट्युमर देखिएको थियो।

त्यसपछि, डा. कार्की नेतृत्वको उपचार टोलीले महिलाको पेटको समस्या समाधानका लागि शल्यक्रियाबाहेकको विकल्प नहुने ठहर गरेको थियो।

साउन १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्