कपाल किन झर्छ? कपाल झर्न कसरी रोक्न सकिन्छ? (भिडियो)

सामान्य रुपमा कपाल झर्नु र पलाउनु एउटा चक्र हो। यसका लागि कुनै उमेर वा समूह हुँदैन। तर सामान्य रुपमा नभएर विभिन्न कारणले कपाल झर्नु समस्या हुन सक्ने विज्ञहरुले बताएका छन्।

पछिल्लो समयको कुरा गर्ने हो भने कोभिड भएर निको भएको तीन–चार महिनापछि धेरै कपाल झरेर अस्पताल पुग्नेहरुको संख्या बढेको थियो।

विज्ञहरुका अनुसार कतिपय अवस्थामा तनाव हुँदा कपाल धेरै झर्ने गर्छ। कपाल झर्ने समस्याले धेरैलाई चिन्तित बनाइरहेको छ। कतिपय व्यक्तिहरुमा कपाल झर्ने वंशाणुगत गुणले पनि हुने पाटन अस्पतालका छाला रोग विशेषज्ञ प्रा. डा. भास्कर मोहन कायस्थ बताउँछन्। कपाल झर्ने समस्याबारे डा. कायस्थसँग गरिएको कुराकानीः

कपाल किन झर्छ?

कपाल कोभिड भएर मात्रै झर्ने होइन। अरु–अरु रोगले गर्दा पनि कपाल झर्ने गर्छ। कसैलाई धेरै ज्वरो आएको छ, पखाला लागेको छ भने पनि कपाल भर्न सक्छ।

अथवा कसैको दुर्घटना भएको छ भने त्यसको दुई तीन महिनामा कपाल झर्नु स्वभाविक हो। कपालको ग्रोथको लागि कपाल झर्ने साइकल हुन्छ। त्यही साइकल बिरामी भएका बेलामा रोकिन्छ। र त्यसको असर तीन महिनाजतिमा देखिन्छ।

नयाँ कपालको जरा भित्रबाट पलाउँछ, पुरानो बिग्रेको कपाल झर्छ। यो समस्या बिरामी भएको दुई तीन महिनापछि मात्र देखिन्छ। यस्तो समस्या कोभिड निको भएको तीन महिनापछि धेरैलाई देखिएको थियो।

बिरामी भएपछि कपाल कति लामो समयसम्म झर्छ?

अक्सर यो तीन महिनादेखि ६ महिनासम्म झर्ने गर्छ। यसमा पनि कस्तो खालको बिरामी भएको हो त्यसमा पनि भर पर्छ। तर कोभिडमा भने अलि बढी देखिएको थियो। फेरि कपाल झरेर नयाँ नपलाउने भन्ने हुँदैन। जति झरे पनि नयाँ आउँछ।

बिरामी भएपछि कपाल झर्ने समस्या फरक रह्यो, कतिपयको बिरामी नहुँदा पनि झरिरहेको हुन्छ नि, किन?

कपाल झर्ने विभिन्न कारणहरु छन्। न्यूट्रेशन पुगेन भने पनि कपाल झर्ने समस्या देखिन सक्छ। कपालको जरालाई न्यूट्रेशन चाहिन्छ। तर त्यही पोषणको कमी छ भने कपालको जरामा पोषण पुग्दैन र कपाल झर्न थाल्छ।

जस्तै, बिरुवाहरुको जरामा पानी मल पुगेन भने बिरुवा मर्छन् वा ढल्छन्, हो त्यस्तै हो। कपालको पनि जरामा न्यूट्रेशन पुगेन भने त्यसले गर्दा कपला झर्छ।

बिरामी भएका कारणले कपाल झर्ने भइहाल्यो। अर्को भनेको बच्चा जन्मिएको तीनदेखि ६ महिनामा महिलाहरुमा कपाल झर्छ। त्यो समयमा रक्तश्राव धेरै हुन्छ। धपेडी धेरै भएको हुन्छ। तनाव भएको हुन्छ। यी सबै कुराको असरले गर्दा कपाल झर्छ।

त्योबाहेक अर्को कुरा, कपाल झरेपछि क्यान्सर हुन्छ भन्ने धारणा छ। त्यो होइन। क्यान्सर भएको व्यक्तिको कपाल झर्ने होइन कि क्यान्सर भएको बिरामीहरुलाई केमो थेरापी (क्यान्सर भएका बिरामीलाई चलाइने औषधि) चलाउदा झर्ने हो। केमो चलाउँदा यसको असरले गर्दा कपाल झर्ने हो। क्यान्सर भएको बिरामीको कपाल झर्ने भन्ने होइन।

त्यस्तै, कोही थाइराइड बिरामी छ भने उसको पनि कपाल झर्ने समस्या धेरै हुन्छ।

दैनिक रुपमा कति मात्रामा कपाल झर्नुलाई असामान्य मानिन्छ?

महिला होस् या पुरुष, सामान्यतया कपाल दैनिक रुपमा सय वटा सबैको झर्छ। पुरुषहरुको कपाल सानो सानो हुने भएका कारण त्यति धेरै याद गरिँदैन। र पातलो कपाल हुने महिलाको पनि त्यति धेरै ‘नोटिस’ हुँदैन। तर जसको कपाल बाक्लो छ, उनीहरको नुहाउने बेला सुतेर उठ्ने बेला तकियामा कपाल झरेको देखिन्छ।

जति बाक्लो कपाल भयो त्यति धेरै झरेको देखिने हो। त्यसैले सय वटा कपाल झर्नु स्वभाविक नै हो। सबैको झरिरहेको हुन्छ। त्यसलाई साइकल भनिन्छ, सय वटा आउँछ, सय वटा भित्रबाट पलाइरहेको हुन्छ। भित्र पलाइरहेको नयाँ कपालले बाहिर कजोर भएको कपाललाई ठेलेर माथि आउन खोज्दा त्यही कमजोर कपाल झर्छ।

सय वटाभन्दा धेरै झरेको कसरी थाहा पाउने?

नुहाउने बेला झरेको देखिन्छ। कपाल कोर्ने बेलामा काइँयोमा देखिन्छ। सय वटाभन्दा धेरै झरेको छ भने के कारणले झरेको हो, त्यो पत्ता लगाएर हामी औषधि गछौँ। कसैको रगतमा आइरनको कमि छ भने उसलाई हामी आइरन दिन्छौँ। त्यो बोहक अरु कारणले भएको हो भने त्यहीअनुसारले उसको उपचार गर्छौँ।

कसैले कपाल कोर्ने तरिका गलत भयो भने पनि झर्न सक्छ। जस्तो, नुहाएको बेला हाम्रो कपालको जरा एकदमै कमजोर हुन्छ। नुहाएर गुच्मुचिएको कपाल हुन्छ, त्यही बेला जबरजस्ती कपाल काइँयो गर्न खोज्छौँ। त्यही बेला जरा कमजोर भएका कारण कपाल बढी झर्छ। त्यही कारणले नुहाउने बित्तिकै वा कपाल भिजेका बेला हल्कासँग तौलियाले पुछेर सुख्खा बनाउने गर्नुपर्छ। अनि त्यसपछि मात्र ठूलो दाँत भएको काइँयो कोर्ने गर्नुपर्छ।

धेरै कपाल झरेको छ भने रोकथामका उपाय के?

पछिल्लो समय विभिन्न कुराहरु गुगलमा सर्च गरेर जथाभावी सामान मगाएर प्रयोग गर्ने गरेको पाइन्छ। त्यो सामानहरुले उनीहरुलाई कत्तिको फाइदा पुर्‍याउँछ, त्यो साइन्टिफिक इभिडेन्स केही पनि छैन।

हाम्रो शरीरमा चाहिने न्यूट्रेशन छ भने कपालमा जथाभावी लगाइराख्नु पर्दैन। त्यसरी लगाउँदा कपालको ग्रोग पनि हुँदैन। कपाल झर्ने समस्यालाई पनि रोक्दैन।

कपाल अलिअलि झर्ने ‘जेनेटिक’ पनि हुन्छ। त्यस्तो कपाल मसिनो र पातलो हुने गर्छ।

तर कसैको गोलो चक्का जसरी चिल्लो भएर झर्छ। त्यसलाई हामी ‘एलोपेसिया एडियाटा’ भन्छौँ। त्यसलाई औषधि गर्नुपर्छ। जसका लागि लगाउने, खाने औषधि हुन्छ। यी दुवै औषधिले भएन भने कपाल झरेको ठाउँमा इन्जेक्सन लगाउनु पर्ने हुन्छ।

कपाल झर्ने ७० प्रतिशतको आफै आउने गर्छ, तर ३० प्रतिशतलाई उपचार गर्नुपर्ने हुन्छ।

कपाल झरेर तालु खुइलिने पुरुषलाई मात्र हुन्छ भन्ने कतिपयको धारण छ नि?

तालु खुइलिने भनेपछि हामी केटा मान्छेलाई मात्र हुन्छ भन्ने धारण छ। तर त्यसो होइन। त्यसलाई ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भन्छौँ। यो पुरुष, महिला दवैमा हुन्छ।

पुरुषमा ‘कमन’ हुन्छ। निधारको छेउबाट कपाल झर्दै तालु खाली हुन्छ। कसैको टुप्पीबाट पनि हुन सक्छ। पुरुषमा ‘टेस्टो स्टेरोन’ भन्ने हर्मोन हुन्छ। हर्मोनको ‘रिसेप्ट्रो’ भन्नेले कपालको जरामा काम गर्छ।

बढी हर्मोन भएका कारण बढी खुइलिन सक्छ। त्योबाहेक हर्मोन सामान्य भएता पनि कपालको जरामा ‘रिसेप्ट्रो’को पोइन्टहरु बढ्दा कपाल झर्ने हुन्छ।

त्यही हर्मोन अलिअलि महिलामा पनि हुन्छ। त्यसकारण महिलामा पनि त्यसरी नै कपाल झर्छ। महिलाको पुरुषको जसरी तालु नै खुइलिने गरी नझरे पनि ‘डिफियूज टाइप’ले झर्छ।

कपाल झार्न पानीले केही भूमिका खेलेको हुन्छ?

कपाल झर्दा धेरैले पानीलाई दोष दिन्छन्। तर पानीभन्दा पनि पानीमा भएको केमिकलहरु आइरन, मिनरल अलि बढी भएको पानी छ भने त्यो पानीले नुहाउँदा अलि बढी झर्छ। इनारको पानीले नुहाउँदा झर्न सक्छ। इनारको पानीमा केमिकल र आइरन धेरै हुँदा न्यूट्रेशनलाई बाधा पुर्‍याएर कपाल झर्छ।

प्राकृतिक कपाललाई विभिन्न आकार दिने कुराले केही असर गर्छ, गर्दैन?

स्ट्रेट र कर्ली कपालको कुरा गर्ने हो भने स्ट्रेट कपाललाई कर्ली गर्दा त्यति धेरै फरक पर्दैन। कपाल सानो भएता पनि त्योभित्र फाइबरहरु स्प्रिङजस्तो प्रोटिन हुन्छ। स्ट्रेट कपाललाई कर्ली गर्दाखेरी स्प्रिङजस्तो प्रोटिनलाई त्यति धेरै ड्यामेज हुँदैन। तर कर्ली कपाललाई हिट दिएर स्ट्रेट गर्ने चलन छ नि, त्यसो गर्दा कपालभित्रको प्रोटिनको फाइबर भित्रभित्र टुक्रिन्छ।

प्रोटिन टुक्रेको दुई तीन महिनापछि कपाल मज्जाले झर्छ। त्यही झरेको कपला कहिले काहीँ ‘पर्मानेन्ट्ली’ नआउन सक्छ। त्यसकारण कपाल स्ट्रेट गर्नेहरु धेरै सजक हुन जरुरी छ।

अर्को भनेको, कपालमा रङ लगाउने कुरामा कसैले रङ लगाउँदा लगाउँदा एलर्जी हुने समस्या ठूलो छ, अहिले। जसलाई ‘एसिडी हेयर डाई’ भन्छौँ, हामी। यो समस्या सुरुसुरुमा हुँदैन। एक–दुई महिना बिराएर रङ लगाइन्छ। रङ लगाएको तीन चार वर्षसम्म केही पनि हुँदैन।

तर त्यसको चार पाँच वर्षपछि मात्र त्यसको एलर्जी देखिन्छ। सुरुमा कपाल चिलाउने हुन सक्छ, पछिपछि कान, आँखा सुन्निनेसम्म हुन सक्छ। र अन्तिममा कपाल पूरै आगोले पोलेकोजस्तो भएर पानीपानी आएर पाप्रा बस्ने गरी एलर्जी हुन्छ।

तर यो कुरालाई धेरै बिरामीले स्वीर्कानु हुँदैन। पाँच वर्षदेखि लगाएको अहिलेसम्म नभएको एक्कासी कसरी भयो भन्नुहुन्छ। एलर्जी हुने त्यही कारणले नै हो। रङ अलिअलि गरेर जम्मा हुँदै जान्छ। त्यसको लिमिट सर्टेन लेभलमा पुगेपछि अनि मात्र एलर्जी हुन थाल्छ।

 

साउन १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्