काेहलपुर हत्या प्रकरण: अर्का व्यक्ति पनि संलग्न रहेकाे खुलासा

नेपालगञ्ज- बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४, ओढारपुरमा भएको दम्पती हत्यामा अर्का व्यक्ति पनि संलग्न रहेको खुलेको छ।

साउन ९ गते राति २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरियाको घरभित्रै हत्या भएको थियो। दाजु विजय गडरिया र भाउजू रेखा गडरियाको योजनामा कृष्ण र अञ्जलीको हत्या भएको थियो।

दाजु विजय र भाउजू रेखाले ‘पैसा’ दिएर नेपालगञ्जका सकिल अली शेष, राजन सोनकर र राजु बेहनालाई प्रयोग गरेर कृष्ण र अञ्जलीको हत्या गराएकाे खुल्न आएकाे छ।

प्रहरीले विजय, रेखा, सकिल र राजनलाई पक्राउ गरेको छ। हत्यामा संलग्न राजु फरार रहेका छन्।

पक्राउ परेका विजय र रेखाले पटक-पटक बयान फेर्दै आएका छन्। सुरुमा उनीहरूले भारतीय दुईजना सुटरलाई ल्याएर हत्या गराएको बताएका थिए। पछि नेपालगञ्जका दुई सकिल र राजनबाट हत्या गराएको बताए ।

अहिले आएर फेरि घटनामा राजु पनि संलग्न रहेको खुलाएका छन्। सुरुमा विजयले आफू माथिल्लो तलामा सुतेको बताएका थिए। तर, उनी हत्यामा प्रत्यक्ष संलग्न भएको बयान दिएका छन्।

प्रहरीसँग दिएकाे बयानका अनुसार भाइ र बुहारीको हत्याको योजना विजयले सकिलसँग बसेर बनाएका थिए। ग्यारेजमा काम गर्ने सकिलसँग विजयको पुरानो चिनजान थियो। विजयले भाइ र बुहारीको हत्या गर्ने कुरा गरेपछि सकिलमार्फत नै ममता नाम गरेकाे व्यक्तिलाई दुई लाख रुपैयाँ दिएको खुलेको छ।

हत्या गर्ने दिनअघि नै ममता जेल परेपछि घटनाले अर्को रूप लिएको थियो। त्यसपछि सकिलले राजन र राजुलाई अपराधमा जोडेका थिए। ५० हजार रुपैयाँ लिएका सकिल, राजन र राजुलाई दाजु विजयले घरभित्र प्रवेश गराएका थिए।

पेस्तोल लिएर घरभित्र पसेका उनीहरूले एक राउण्ड फायर गरेका थिए। खोका अड्केपछि फेरि पड्काउन पाएका थिएनन्। त्यसपछि डोरीले घाटी कसेर मार्ने योजना बनेको थियो। कृष्णलाई हत्या गर्न हत्यारालाई धेरै सकस भएको घटनास्थलले देखाएको प्रहरीले बताएको छ। कृष्णले धेरैबेरसम्म प्रतिकार गरेका थिए।

इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डिएसपी ऐनबहादुर मल्लले घटनाको रहस्य खुल्दै गइरहेको बताए।

‘हत्यामा दुई जनामात्रै संलग्न भनिएको थियो। अनुसन्धान गर्दै जाँदा चारजना संलग्न रहेको पाइएको छ’, डिएसपी मल्लले भने, ‘हत्यामा बाहिरका तीनजना र दाजु विजय प्रत्यक्ष संलग्न थिए।’

डिएसपी मल्लले राजु बेहना फरार रहेकाले उनको खोजी गरिरहेको बताए। मल्लले हत्याको कारण सम्पत्तिलगायत भएको बताए। बाबुआमा तीर्थ गएको मौका छोपेर विजयले बाहिरी मान्छे लगाएर भाइ र बुहारीको हत्या गरेका थिए।

साउन १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्