एमाले सांसद लोहनीको आरोपः सरकारले एसपीपीबारे अमेरिकालाई पत्र लेखेकै छैन

काठमाडौँ – नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले सरकारले अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र पठायौँ भनरे नपठाएको आरोप लगाएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारसँग संसदीय समितिले र सिंगो संसदले अमेरिकालाई एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्र माग गर्दा दिन हिच्किचाहट गरिरहेको बताए।

उनले नेपालीहरुको चासो र चिन्ताको विषयबारे जानकारी नगराउनु सरकारको गैरजिम्मेवारीपन भएको बताए। उनले सरकारले जनता र समितिलाई एसपीपी सम्झौतामा सहभागी नहुने भनेर पठाएको पत्र उपलब्ध नगराउनु राष्ट्रप्रतिको धोका भएको बताए।

उनले भने, ‘एसपीपीमा संलग्न नहुने भनेर सरकारले निर्णय गर्‍यो भनेर संसदमा मन्त्रीज्यूले सुनाउनुभएको थियो। त्यसपछि पत्र पठाइएको छ भन्नुभएको थियो। खोइ त्यो पत्र? के पत्र पठाउनु भयो? त्यो पत्र यत्रो ठूलो चर्चा चलिरहेको बेलामा संसदमा पेस गर्नु पर्दैन? के लेखियो? कस्तो लेखिएको छ? त्यसको बारेमा सरकारले जानकारी गराउनु पर्छ। हामीले माग गरेका छौँ। सरकारले पत्र नदिनु गैरजिम्मेवारी कुरा हो।

समितिलाई निर्देशन दिँदासमेत जानकारी नगराउनु समिति र राष्ट्रप्रति नै धोका हो। सरकारले त्यसो गर्न मिल्दैन। सरकारले एसपीपीमा संलग्न हुँदैनौँ भन्ने र पत्र नपठाउने र पठायौँ भनेर ढाँट छल गर्ने र पत्रको छायापत्र माग्दा नदिने भन्ने कुरा सरकारको जिम्मेवारी भएन।’

साउन १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्