सरकारले ‘मिनी पार्लियामेन्ट’को अवहेलना गर्‍योः सांसद पौडेल

काठमाडौँ – राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारले मिनी पार्लियामेन्टको अवहेलना गरेको बताएकी छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले सरकारले संसदीय समितिले माग गरेका एसपीपीसम्बन्धी डकुमेण्ट उपलब्ध नगराउनु मिनी पार्लियामेन्टको दुरुपयोग भएको जिकिर गरिन्।

सांसद पौडेलले समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउनु नहुने भन्दै सरकारले एसपीपीसम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत भएको बताइन्।

उनले भने, ‘हामीले एसपीपीसम्बन्धी अहिलेसम्मको के–के डकुमेण्ट छ, त्यो मागेका थियौँ। एउटा सांसदले देशमा के भइरहेको छ त्यो सबै जानकारी पाउने अधिकार राख्छ। त्यो माग गरे पनि सामग्री आएन। कतिपय जवाफ सुन्दा त्यसले पूरा गर्दैनन्। हाम्रो अधिकारको कुरा हो। हामीले माग गरेका कुरा सरकारले दिनुपर्छ।’

पौडेलले थपिन्, ‘मिनी पार्लियामेन्टलाई अवहेलना गर्नुहुँदैन। यो समितिले निर्देशन गरेका कुरा बिना अर्थ नै बंग्याउनु हुँदैन। सरकारले एसपीपीसम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने भनेर बोलिसक्दा पनि सेनाप्रमुख एसपीपीको कार्यक्रममा उपस्थित हुनु गलत हो। यसमा स्पष्ट हुनुपर्छ।’

साउन १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्