यु-२० साफः उपाधिका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौँ – यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ।

भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन्।

पहिलो पटक यु-२० आधारमा आयोजना भएको प्रतियोगितामा दुबै टोलीले उपाधि जित्ने बताएका छन्। घरेलु टोली भारत समूहमा भागेको हारको बदला लिन चाहन्छ। यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ।

भारत प्रतियोगिताको साविक विजेता समेत हो। नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।

त्यस अघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुवै उपाधि नेपालले जितेको थियो। त्यसयता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन।

भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो । भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

यस अघि समूहमा भएको खेलमा बंगलादेशले भारतलाई २–१ अन्तरले पराजित गरेको थियो ।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्