समाज परिवर्तन गर्न सक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएका छन्।

शुक्रबार २२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदिवासी चलचित्र प्रदर्शनसहित विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताए।

उनले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए।

उनले समाजमा भइरहेका घटनालाई समेटेर समाज परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताए। उनले समाज परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताए।

उनले भने, ‘हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्छ। युग सुहाउँदो चलचित्र भन्नाले विज्ञानप्रविधिको हिसावले पनि सबैभन्दा माथि उठेको विज्ञानप्रविधिको प्रयोग हुनुपर्छ। अग्रगामी ढंगको हुनुपर्छ।’

कथावस्तु पनि सामाजिक विषयवस्तुलाई समेटिएको हुनुपर्ने उनले बताए। समाज परिवर्तनका लागि नेतृत्व गर्ने व्यक्तिलाई कथाका पात्र बनाउनुपर्ने उनले बताए।

मन्त्री श्रेष्ठले माईतीघर भन्ने स्थानमा नेपाली चलचित्र माईतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरूले माईतीघर बोलाउन थालेसँगै पछि माईतीघर नै नामकरण भएको बताए।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्