एमालेले चुनाव हार्दा देश हार्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले जित्नै पर्ने बताएका छन्।

आफ्नो पार्टीले निर्वाचन हार्दा देशले हार्ने भएकाले हार्नै नहुने अवस्था आएको उनको जिकिर थियो। पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा उनले देशलाई हार्न नदिन पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नै पर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए।

सत्तारुढ गठबन्धन र यसका नेताले देशलाई दुर्गतीमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहो¥याए। उनले सत्तारुढ गठबन्धनमा आबद्ध नेताहरूले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए। गठबन्धनका नेताहरू शेरबहादुर देउवाको गन्तव्य मेडम साहेव भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहनविक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरूबाट देशको हित नहुने दाबी गरे।

उनले भने, ‘मुख्य फोकसचाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो। अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन। आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन। एमालेका लागि त केही छैन। प्रतिपक्षमा बस्छ। प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ। देशको पक्षमा बोल्छ, आवाज उठाउँछ। राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ। आवाज उठाइरहन्छ। यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन। तर, एमालेले हार्दा देश हार्छ। एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ। देशलाई हार्न दिनुहुने छैन। एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दुर्गतिमा लगेको छ। निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ। यिनको कुनै गन्तव्य छैन। माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ, उनको गन्तव्यसन्तव्य केही पनि छैन।’

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे।

पार्टीको सरकार नढल्नका लागि पनि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरुले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे।

उनले भने, ‘हामीलाई दुईतिहाइ बहुमत चाहिने हो। तर, तत्कालका लागि त्यो सम्भावना छैन। तर सम्भावना के छ भन्दा हामीले इमान्दार प्रयासलाई संगठित ढंगले, योजनाबद्ध ढंगले अगाडि बढायौँ भने बहुमत प्राप्त गर्न सक्छौँ। सरकार गठन गरेपछि पनि अप्ठ्यारो नपर्ने गरी हामीले बहुमतको सरकार बनाउनुपर्छ। तर, फेरि अदालत प्रयोग गरेर हामीलाई अप्ठ्यारो पार्न सक्छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको अधिकार हो। तर, व्यक्तिको अनुहार हेरेर सर्वोच्च अदालतले समेत फैसला गर्ने गरेको छ।’

अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छाड्ने दृढतासमेत व्यक्त गरे।

 

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्