चुनावमा भाग लिन चाहने दलले साउन ३१ गतेसम्म निवेदन दिनुपर्ने

काठमाडौँ – आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिन चाहने दललाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै आइतबार (साउन २२ देखि ३१ गतेभित्र) दल दर्ताका लागि आह्वान गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची(१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ।’

चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ।

आयोगले दल दर्ताको लागि निवेदन दिंदा प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने जनाएको छ। त्यस्तै दुई वा दुई भन्दा बढी दलले एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न भए त्यसको जानकारी पनि दिनुपर्ने पौडेलले बताए।

दल दर्ताका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहनेछ।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्