विपदको घटनामा जनधनको क्षति हुन नदिन गृहमन्त्रीको निर्देशन

फाइल तस्विर।

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँडले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा शुक्रबार आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँडले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्री खाँडले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरि संयन्त्र बनाउन पनि निर्देशन दिए।

मनसुनजन्य विपदले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अवस्थालाई ध्यानमा राख्दै सबै निकायले आफूसँग भएका पूर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाँडले निर्देशन दिए।

विपदजन्य जोखिम विरुद्ध लड्न एक्लै सम्भव नभएकाले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए।

मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सिर्जना हुने भएकाले स्थानीय बाटो सडकलाई बिग्रन नदिने बिग्रिहाले समयमै मर्मत गर्ने अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई निर्देशन दिए।

बैठकले विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास गरेको छ। विपदसम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भएपछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थमन्त्रालयको स्विकृती लिनुपर्ने अवस्था हटेको छ।

साउन २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्