जापान पुगे प्रचण्ड

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्।

नेपाल एयरलाइन्सको विमानमार्फत् उनी आज बिहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

पार्टीको जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रबार साँझ जापान उडेका थिए।

उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गरे।

भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कार्यक्रम छ ।

अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने उनको सचिवालयले जनाएको छ। जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो। सो घटना भएको ७५ वर्ष पूरा भएको छ।

उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रियामा सहभागिता जनाउनेछन्।

यस्तै, उनले जापानको सत्तारूढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेकाे छ।

प्रचण्डकाे अनुपस्थितिमा नेता नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। दाहाल साउन २५ गते स्वदेश फर्किने छन्।

साउन २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्