कृषकहरूले बालीनाली लगाएका खेतबारीबीच वा आवश्यकताअनुसार विभिन्न कुनामा राखिने मानिस आकारको तर्साउने वस्तुलाई बुख्याचा भनिन्छ। चराचुरुङ्गी वा अन्य वन्यजन्तुबाट खेती बचाउनका लागि काठमा पराल वा विभिन्न रङ्गका लुगाद्वारा यसको निर्माण गरिएको हुन्छ। यी बुख्याचाहरूमा न त गति नै हुन्छ, न त आवाज वा देख्नसक्ने क्षमता। तर, पनि यिनले चौबिसै घण्टा सातै दिन आफ्नो पहरा दिइरहन्छन, अनवरत रूपमा।

यिनले सयौँ वर्षदेखि आफ्नो उपादयता प्रमाणित गरी आएका छन्। अहिले पनि दूरदराजका खेतबारीमा यी बुख्याचाहरू उभिरहेको भेटिन्छ। तर अफसोस यिनको चर्चा हुन छोडेको छ। अहिले नेपालमा चतुर स्मार्ट बुख्याचाहरूको प्रादुर्भाव भएको छ, चर्चा यसैको छ। यसलाई कृत्रिम चेतनाका नामले पनि चिनिन्छ। यिनको आकार स्वरूप र क्षमता पनि थरीथरीका छन‍्- कुनै चुच्चे नाक भएका, कुनै निधारमाथि कपाल सर्लक्क कोरेका, कुनै ठूला-ठूला आँखा र पुक्क उठेको गाला भएका, कुनै बेलाबेला मुसुक्क मुस्काउने, कुनै नाँच्ने, कुनै हिड्ने आदि।

अचम्म त यी आयातित होइनन्, नेपालमै बनेका हुन्। फरक यति मात्र हो कि यिनको प्रोग्रामिङ्ग भाषा भने विदेशीले लेखिदिएका छन्। यिनको आइक्यू र सूचना प्रेषित गर्ने कुशलता र क्षमता पनि गजबको छ। यी स्मार्ट बुख्याचाहरूलाई जुनसुकै विषयमा प्रश्न सोध्नुहोस् फ्याट्टै उत्तर दिइहाल्छन्। नेपालको त इतिवृतान्त थाहा छ। नेपालको राजनीतिको त कुरा नै भएन।

प्रदर्शनीको उत्तर-पश्चिम पट्टिको कुनामा राखिएको गोलो अनुहार, पुक्क गाला भएको, गहुँगोरो, ठूलाठूला आँखा भएको बुख्याचालाई हेर्ने दर्शकहरूको निक्कै भीड छ। प्रश्न पूरा नहुँदै उत्तर दिइहाल्ने रहेछ।

एक दर्शकले सोधे, ‘ल भन त पृथ्वीनारायण शाह को हुन?’ शब्द झर्न नपाउँदै उसले भन्यो, ‘ए त्यो नेपालका बाइसे चौबिसे राज्यमा आक्रमण गर्दै हिँड्ने फिरन्ते गोरखाली?’

‘हैन, नेपालको एकीकरण गर्ने राजा को हुन् भनेको?’ ‘ए त्यसो पो’, बुख्याचा भन्छ, ‘नेपाललाई एउटा इकाइका रूपमा स्थापित गर्ने राजा पृथ्वीनारायण शाह हुन् क्यारे।’

कसैले भन्याे, ‘गजबको छ यो स्मार्ट बुख्याचा’।

दर्शकले पुन: सोध्यो, ‘कसको इकाइ? दक्षिण उत्तर कता पट्टिको कित्ताको इकाइ?’

बुख्याचाले एकछिन गम खायो र भन्यो, ‘राष्ट्रियता प्रजातन्त्र विकासको संरक्षण गर्ने गणतन्त्र स्थापना गर्न सधाउने कित्तामा पर्छ। यसो भने कसो होला।’

आखिर बुख्याचाको प्रोग्रामिङ्ग भाषा त विदेशीले लेखेको नै ठहरियाे। यो बुख्याचा माहिर छ अधिकारको कुरा गर्न, सुशासन र भ्रष्टाचाररहित राज्य सञ्चालनको कुरा गर्न, नेपाललाई विकसित राष्ट्रको हाराहारीमा केही दशकमा नै पुर्‍याउने गुड्डी हाँक्न।

दर्शक दीर्घाबाट प्रश्न आयो, ‘नेपालको विकास कसरी संभव हुन्छ?’ बुख्याचा भन्छ,  ‘विकास कत्रो कुरा भयो? केही विकसित राष्ट्रहरूजस्तै दुई छिमेकी, नेपालमा सेना तैनात गर्न मन गर्ने विकसित मुलुक आदिलाई गुण लगाउने। यस कार्यमा भाँजो हाल्न भएन, राष्ट्रियताको नाममा। त्यसपछि त ती मुलुकहरूबाट एक दुई खरबका दरले सहयोग बटुल्ने अनि नेपाललाई एक दशकमा नै यूरोपजस्तै समृद्ध देश बनाउन सकिहालिन्छ नि।’

‘कसरी संभव हुन्छ?’, प्रतिप्रश्न दर्शकदीर्घाबाट आउँछ। हात हल्लाउँदै मुख मिठ्ठाउँदै बुख्याचा भन्छ, ‘उनीहरूको स्वार्थ पूरा गरिदिए भहाल्छ नि।’

‘यसरी देशको स्वतन्त्र अस्तित्व कसरी रहन्छ?’, प्रश्न आउँछ। यसमा बुख्याचा भन्छ, ‘धन्ना मान्नु पर्दैन, आजको विश्वव्यापीकरणको युगमा पनि सानो सीमाभित्र किन सीमित हुने? विश्व नागरिक हुने, रोहिङगया, अफगानी, युक्रेनीजस्तो नि।’

सबै दर्शकको ध्यान तान्न माहिर छ। यसको बजार मूल्य पनि चर्कै भएको बुझिन्छ। बुख्याचाको नाम- ‘आकाशमणि’ हो।

अर्को कुनामा राखिएको लामो अनुहार, चुच्चो नाक र कपाल माथि सर्लक्क कोरिएको बुख्याचा हेर्न पनि मान्छेको भीड ठूलै छ। लेखिएको छ, ‘कार्ल मार्क्स, चे ग्वेभारादेखि समकालीन नेपाली राजनीतिका विषयमा विशेष दख्खल राख्छ।’

मेरो अगाडि उभिएका दर्शकले सोधे, ‘हाम्रोजस्तो गरिब देशको विकासको मूलमन्त्र के हो?’ बुख्याचा खिसिक्क हाँस्यो र नाके स्वरमा भन्यो, ‘दलाल पूँजीवादको अन्त्य, लामो समयदेखि शोषण दमनमा परेका सीमान्तकृत जनताको मुक्ति, एक दलीय सर्वसत्तावादी जातीय शासन व्यवस्था।’

‘ए बा! के भन्छ? यो त हाम्रै नेता जस्तो पो बोल्छ!’, मैले पनि प्रश्न गरिहालेँ, ‘त्यसो भए नेपालको दश वर्षे जनयुद्धका विषयमा केही थाहा छ?’ प्रश्न नसकिँदै बुख्याचाले भन्यो, ‘किन थाहा नहुने?’, त्यसपछि उसले थप्यो, ‘पहिले विदेशीको सहयोगमा जनयुद्धको सुरुवात अनि विदेशीकै इशारामा विसर्जन- बाह्रबुँदे सम्झौताका साथै।’

फेरि मैले प्रश्न गरेँ, ‘त्यसो भए बाह्रबुँदे शान्ति सम्झौताको सुत्राधार को हुन त?’

बुख्याचा खिसिक्क हास्यो र भन्यो, ‘यहाँ सबैको अगाडि नभनौँ कि?’

‘किन त्यसो भनेको?’ मैले प्रश्न गरेँ। उत्तरमा बुख्याचा खितित्त हास्दै भन्छ, ‘यो कुरा त छिमेकी मुलुकका लब्धप्रतिष्ठित राजनेता, कुटनीतिज्ञ, प्रोफेसर साहेबहरूको किताबमा पढे भइहाल्छ नि। मेरै मुखले किन भन्नु पर्‍याे र?’

यो बुख्याचाको नाम- ‘दलवदल’ हाे।

गोलो अनुहार ठूलो निधार सर्लक्क कपाल माथि कोरेको सानो कदको यो ‘नक्कली कमरेड’ नामको बुख्याचा छिनमै खितिक्क हाँसीदिन्छ त, छिनमै रोइदिन्छ। बेलाबखत कम्मर हल्लाएर नाची पनि दिन्छ। दर्शकहरूको ओइरो यतै छ। टाउको हल्लाइहल्लाइ चिच्याएर एकतारसँग भनिरहेको छ, ‘साथी हो! जनताको मुक्तिका लागि अन्तिम जनयुद्ध आवश्यक छ। १० वर्षे जनयुद्धको उद्देश्य पूरा भएको छैन। अन्तिम निष्कर्षमा पुग्न अर्को लडाइँ लड्नु छ। सबै एकमत एकजुट भएर अगाडि बढ्ने दिन आएको छ। मेरा सहयात्रीले थाङ्गानामा सुताइदिए। विलखबन्दमा परेको छु, धर्मसंकटमा परेको छु, कसको भोटोको फेरो समात्ने, दक्षिणको कि उत्तरको। उत्तरको फेरो समातूँ दक्षिणले मेरा सबै काला अराष्ट्रिय कर्तुतको पोल खोलीदिन्छ। दक्षिणको फेरो समातूँ उत्तरको फलामे छडी खाइन्छ। म त रनभुल्लमा परेको छु।’  ‍

त्यसपछि नक्कली कमर्ड सुक्कसुक्क रुन थाल्छ। दर्शकहरूको हाँसोले प्रदर्शनी हल गुञ्जायमान हुन्छ।

‘किन हास्नु भएको तपाईंहरू? प्रधानमन्त्रीको कुर्सीमा बसेको कसैले देख्न सकेनन्। देशी विदेशीको षडयन्त्रका कारण कुर्सी छाड्न पर्‍याे। देशलाई उन्नत राष्ट्र बनाउने सपना पूरा गर्न एक पटक पुन: त्यो कुर्सीमा बस्नु परेको छ। बस्ने धित मरेको छैन। उदघाट्न र शिलान्यास कार्यक्रम भने जति अझै गर्न पाएको छैन।’

हुलबाट एकजना बैसाखी टेकेकी बडो टिठलाग्दो ख्याउटे अनुहारको अधवैंशे महिलाले भावुक हुँदै प्रश्न गरिन्, ‘कमरेड हामी जनयुद्धमा शरीर अङ्गभङ्ग भएका वा जीवनको आहुति दिनेहरूको राम्रो दिन कहिले आउँछ होला? कति दिन, महिना, वर्ष कुर्नु पर्ने हो?’

भावुक हुँदै आँखाभरि आँसु छचल्काउँदै बुख्याचा हातले निधारको कपाल माथि सार्दै भन्छ, ‘तपाईंहरूको पीडाको समायोचित समाधान गर्न नसकेकोमा मलाई ग्लानी हुन्छ, मर्माहत हुन्छु। अगाडि पछाडि प्लिक प्लिक रातो बत्तीसहितको गाडीका बीच सेतो चिल्लो आरामदायी गाडी चढेर हिँड्दा पनि कसरी राज्यसत्ताको कुर्सी हत्ताउने र तपाईंहरूको घाउमा मलम लगाउने भन्ने चिन्तनमा मग्न हुन्छु। न त निद्रामा न त जागा हुँदा नै मनमा शान्ति हुन्छ। कहिलेकाहीँ त आत्महत्या गरूँ झैँ लाग्छ।’

त्यसपछि सुक्कसुक्क रोएको आवाज निस्किन्छ र मौन भएर प्रश्नकर्तातिर एकोहोरो हेरिरहन्छ। दर्शकदीर्घामा मसाने शान्ति कायम हुन्छ।

अर्कोतिर निधारमा रातो टिका लगाएको, तिलचामले जुँगा भएको अग्लो कदको ‘मण्डले’ नामको बुख्याचा औँला ठडाएर भनिरहेको थियो, ‘साथी हो! यो देशमा राजाको अवसान भइसकेको छ। हिजो त्यही राजाको नाममा राजनीति गरेर नाम दाम कमाए पनि आजको सन्दर्भ फेरिएको छ। अब त्यो नारा बोक्ने दिन सकियो। हिजोका दिनमा गुण लगाउनेको ऋण तिर्ने दिन आएको छ। मलाई त आजकल ‘कमरेड’ भन्ने शब्द ज्यादै मन पर्न थालेको छ।’

दर्शकहरू एक अर्कामा कानेखुसी गर्छन्- ‘कस्तो दुरुस्त बोलीसहितको प्रोग्रामिङ्ग भाषा लेखेको यो बुख्याचाको।’

अर्को कुनातिर प्रोफेसर नामको मोटो-मोटो ङ्याच्च परेको चश्माधारी बुख्याचा पनि धाराप्रवाह अग्रगमन र पश्चगमनको बारेमा आफ्नो बुज्रुकाइ छाँटिरहेको छ।

एक जनाले भीडबाट प्रश्न गरे, ‘होइन तपाईं आफूलाई सर्वज्ञाताजस्तो गरी प्रस्तुत गरिरहनुभएको छ, तपाईंको योग्यता के हो?’

अलिकति चिढिँदै उसले भन्यो, ‘कस्तो बहुलठ्ठी प्रश्न? पिएचडी गरेको प्रोफेसर हुँ, चानचुने ठान्नु भएको छ? गणतन्त्रको स्थापनामा मजस्ता छिमेकी मुलुकबाट प्रशिक्षित र मान्यताप्राप्त बुध्दिजीवीको कत्रो योगदान छ? बाहुनले च्याउ खाओस न स्वाद पाओस भनेजस्तो तपाईंहरूजस्ता मूर्खहरूलाई प्रजातन्त्रमा हाम्रो भूमिका र महत्त्वका विषयमा के ज्ञान होस्?’

प्रश्नकर्ताले हौसिदै फेरि प्रश्न तेर्साए, ‘भारतका तत्कालीन राजदूत, तत्कालीन भारतका परराष्ट्रमन्त्री लगायतका बुध्दिजीवीहरूले आ-आफ्नो प्रकाशित किताबमा त माओवादी जनयुद्ध, गणतन्त्र लगायतका परिवर्तनमा वहाहरूको निर्णायक भूमिका रहेको प्रष्टोक्ति पाइन्छ। यहाँनेर तपाईंजस्ता प्रोफेसरहरू उनीहरूको निर्देशनमा परिचालन भएको भन्दा गलत हुन्छ?’

एकछिन रनथनियो बुख्याचा र भन्यो,  ‘समयको मागअनुसार विचार, व्यवहार र भावी दिशामा परिवर्तन हुने क्षमता भएकोले त मजस्ता दर्जनौँ बुद्धिजीवीहरूको बोलबाला छ, नेपालमा। तपाईंजस्ता पाखेलाई यस विषयमा के ज्ञान होस, बिचरा।’

चिढिँदै प्रश्नकर्ता भन्छ, ‘होइन कसलाई पाखे भनेको?’

उत्तरतिरबाट आएको गुञ्जायमान हाँसोसँगै सबै त्यतातिर लागे। कपाल फुलेको, चश्मा लगाएको, कुर्ता धोतीमा सजिएको बुख्याचा भन्दै थियो, ‘हामी धर्तीपुत्रका कारण यो देशको सार्वभौमिकता, स्वतन्त्रता र अभिभाज्यताको सुनिश्चितता भएको हो। भलै नागरिकता ट्यान्टरम्यान्ट्रर गरेर प्राप्त गरेको भए पनि। नपत्याए हेर्नुस् मैले पहाडमूलकी महिलासँग विवाह गरेको छु, काठमाडाेँमा आलिसान घर बनाएको छु। मन्त्री पटक-पटक हुँदा उद्याेगधन्दा व्यापारमा सबैले बाँडीचुँडी खाने संस्कृतिको विकास गरेको छु। तपाईंहरू यसलाई भ्रष्टाचार भन्नु हुन्छ, त्यो गलत हो। यो संस्कृतिले हामीजस्ता सर्वहारा र हाम्रा आसेपासे कार्यकर्ता लगायतमा समानुपातिक आयको वितरण हुने प्रणाली स्थापना गरेका छौँ। मधेश आन्दोलनद्वारा गणतन्त्रको श्रीगणेश भएको छ। पिछडिएका गरिब उपेक्षितले आरक्षण र समानुपातिकको माध्यमद्वारा राज्य सञ्चालनको माथिल्लोदेखि तल्लो तहसम्म सहभागी हुने अवसर पाएका छन्।

भलै उनीहरू श्रीमती, गर्लफ्रेण्ड, साली-साला, काका-काकी, सासू-ससुरा, लगानीकर्ता वा त्यस्तै-त्यस्तै छन्। राजनैतिक कार्यकर्ताहरूले जागिर पाउने व्यवस्था स्थापना गरेका छौँ। लोकसेवा आयोगको जाँचको लण्ठाबाट पार हुने प्रणाली स्थापना गरेका छौँ।हिजो सीमापारीबाट आई बसोबास गरेकाहरूलाई सहजतापूर्वक नागरिक बनाएका छौँ। समय अनुसार परिवर्तन हुने, दल फेर्ने वा नयाँ दल बनाउने प्रगतिशील नेतृत्वको विकास हामीले गरेका छौँ। हाम्रै कारणले नेपालका प्रजातन्त्रवादी वा वामपन्थी भन्ने दलका नेताहरूलाई पटक-पटक प्रधानमन्त्री बनाएका छौँ। तपाईं नै भन्नुस् हिजोका जनयुद्धका शीर्षनेता हामीसँग जोडिएका छन्, हाम्रो वस्तुनिष्ठ, व्यावहारिक कार्यनीतिका कारण। त्यसैले ती प्रतिगामी हुन् जसले हामीलाई अराष्ट्रियको संज्ञा दिने गर्छन्।’

कटु सत्य हो, आज उल्लेखित केही नमूना बुख्याचा प्रकृतिका राजनैतिक नेताहरूको चंगुलमा परेको छ- हाम्रो देश। प्रेम र युद्धमा जे पनि जायज हुन्छ भने झैँ राज्यसत्ताको कुर्सीका लागि जस्तोसुकै साँठगाठ गरे हुन्छ भन्ने जमातहरुको नेपाली राजनीतिमा हालीमूली छ। सिद्धान्त, निष्ठा, सेवाभावको अनिकाल परेको छ। जसरी भए पनि राज्यशक्तिको बागडोर सम्हाल्ने हिजोको संस्कृति आज पनि त्यति नै प्रगाढ छ। र, त्यसका लागि जोसँग हात मिलाउने वा लम्पसार पर्ने विषय आजको नेपाली राजनीतिको एउटा प्रमुख आधार बनेको छ।

आगामी चुनावको परिणाम जे भए पनि पुन: छ-छ महिने आलोपालो मन्त्रीमण्डलको निरन्तरता हुने छ। प्रदेश र केन्द्रका आठ सय भन्दा बढी माननीय सदस्यहरू आउने पाँच वर्षमा क्रमश: मन्त्री बन्ने छन्, राज्यलाई जनताले पुगीनपुगी तिरेको करको उपभोग गर्नेछन्। अर्थतन्त्रका आधारहरू विशेषत: करका दरहरूको निर्माणमा सबै सिसिटिभी बन्द गरेर भए पनि सहमतिमा गरिने छन्। संसदमा प्रश्न उठ्ने छ, अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने छन्, छानविन समितिले चोख्याउने छ। फेरि नैतिकताका आधारमा त्यही पदमा पुन: नियुक्त भई आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।

नकच्चराहरूको हालीमूली हुनेछ। भ्रष्टाचार सदाचारमा परिणत हुनेछ। बुख्याचा बुध्दिजीवीहरू अग्रगमनको गुणगान गर्न र ओरालो लागेको अर्थतन्त्रको टिप्पणीलाई आधारहीन प्रतिगामी भनेर जनमानसलाई ढाढस दिन कुनै कसर छोड्ने छैनन्। यिनै बुख्याचाहरूको हालीमुली रहिरहने छ।

तर, उल्लेखित उराठ लाग्ने चित्रणमा परिवर्तन गर्ने संभावना पनि त्यति नै प्रचुर छ। अहिले ज-जसले भैरहेका गलत तथा गैरजिम्मेवारी कार्यहरूको विरोध गरिरहेका छन्। ती सबैले एकजुट तथा एकमत भएर चुनावमा कुचोले फोहोर बडारे झैँ यिनलाई बडार्न सक्नु पर्छ, बडार्न सकिन्छ पनि। तर त्यसको लागि हातेमालो र सर्वसाधारणमा चेतनाको जागरण आवश्यक छ।

आजदेखि नै बुख्याचाहरूको जगजगीको अन्त्य गर्ने अभियानमा लागौँ, मन्त्री सांसद नभएका इमान्दारलाई राज्यसत्ताको साँचो बुझाउने संकल्प गरौँ। राज्यको एक वा अर्को रूपमा दोहन गर्ने सम्पूर्ण बुख्याचाहरूलाई सदाका लागि नेपालको राजनीतिबाट च्यूत गर्न आगामी चुनावमा हराउने प्रण गरौँ। र भोलीको समृद्ध, शान्त नेपालको कल्पनालाई साकार बनाऔँ।

adhikary.mathbar@gmail.com

साउन २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्