नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

नेपालमा ३ हप्तादेखि दैनिक कोरोना संक्रमणमा निकै तीव्र वृद्धि हुँदै गएको छ

पछिल्लो समय नेपालमा कोरोना संक्रमण र संक्रमण दर उच्च रहँदै आएको कुरा हरेक साता ताजा तथ्यांकसहित विश्लेषण गरिँदै आइएको छ।

यसै वर्षको जुन महिनाको उत्तरार्धतिर सुरु भएको विश्वको पछिल्लो समग्र कोरोना प्यान्डेमिक लहर केही ओरालो लागिरहेको लक्षण देखिए पनि जापान, कोरियालगायत पूर्वीएसियामा यसको आतंक जारी नै देखिन्छ। त्यस्तै, जुन महिनाको सुरुदेखि देखापरेको दक्षिण एसियाको वर्तमान प्यान्डेमिक लहर केही स्थिर देखिएको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्।

जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई विश्व र नेपालको प्यान्डेमिकको चित्र पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण बढ्दै गए पनि हाल केही स्थिर देखिन्छ।

दक्षिण एसियाको पछिल्लो एक महिना सन् २०२२ जुलाई १ देखि अगस्ट ३ (३४ दिन)को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ।

पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा वृद्धि हुँदै जाने क्रम रोकिई हाल यो प्रवृत्ति केही स्थिरजस्तो देखिएको छ। दक्षिण एसियामा एक महिनादेखि दैनिक संक्रमण औसतमा करिब २०००० को आसपासमा देखिने गरेको छ।

त्यस्तै, दैनिक मृत्यु वृद्धि हुँदै गएको देखिएको छ। एक महिनाअघि ३० जति रहेको दक्षिण एसियाको दैनिक कुल कोरोना मृत्यु औसतमा ६० जति पुगेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जुलाई ३१ देखि अगस्ट ६ (वि.सं २०७९ श्रावण १५ देखि २१) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.२मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, श्रावण २१ गते शनिबारसम्म, देशभरि जम्मा ३५७६ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९८९६७६पुगेको छ।

गत साताभन्दा अघिका सातामा साप्ताहिक कुल संक्रमण क्रमशः२७८१, २०२५,१०८१ थिए। यसरी एक महिनादेखि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्यामा क्रमिक वृद्धि हुँदै गएको छ।

त्यस्तै, गत साता नेपालमा कोरोना मृत्यु पहिलाको भन्दा केही घटेको पाइयो। गत हप्ता साताभरिको कोरोना मृत्यु ५ पुगेको छ जुन दुई साताअघि १२ थियो। हालसम्मको देशको जम्मा कोरोना मृत्यु ११९७१ पुगेको छ।

गत हप्ता जम्मा १९६६१ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १७२३१ थियो।
गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ६८.३९% संक्रमण देखियो जुन दुई हप्ताअघि ६६.८६% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.३ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर र नयाँ संक्रमण प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम १६.७९%देखि अधिकतम१९.०९%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १८.१८% रह्यो जुन दुई हप्ताअघि १६.१४% थियो।

नेपालमा ३ हप्तादेखि दैनिक कोरोना संक्रमणमा निकै तीव्र वृद्धि हुँदै गएको छ र यसको पुष्टि माथिका तथ्यांकले गरेका छन्।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वमा कोरोना संक्रमण र प्यान्डेमिकको नयाँ लहर केही स्थिर देखिए पनि यसको असर विभिन्न देशमा कायमै देखिन्छ।

यसको असर युरोप, अमेरिकादेखि दक्षिण एसिया र नेपालमा पनि देखिएको छ। पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमणमा केही सातादेखि स्थिर देखिँदै आएको छ। दैनिक कोरोना मृत्युको प्रवृत्ति भने केही बढ्दै गएको देखिन्छ।
नेपालमा पनि गत हप्ता साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दरमा केही स्थिरता देखिए पनि यी तथ्यांक अझै उच्च देखिन्छन्।

दैनिक कोरोना संक्रमण गत सोमबार ६३२ पुगेको छ जुन ६ महिनामा हालसम्मकै सबैभन्दा ठूलो संख्या हो।

त्यस्तै, साप्ताहिक कुल कोरोना संक्रमण पनि हरेक हप्ता वृद्धि हुँदै गएको देखिन्छ जसले नेपालमा प्यान्डेमिक निरन्तर बढिरहेको संकेत गर्छ।

नेपालमा कोरोना मृत्यु पनि हरेक दिनजस्तै देखा पर्न थालेको छ, जुन चिन्ताको विषय हो।
प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन, जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने हुन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

साउन २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्