निर्वाचनसम्बन्धी कानुनमा हामीले परिवर्तन गर्नु जरुरी छ, संशोधन गर्नु जरुरी छ: दिलकुमारी रावल

काठमाडाैँ- नेकपा एमालेकी सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन्।

उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन्। स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्नुपर्ने उनकाे भनाइ छ।

सांसद थापाले ‍भनिन्,  ‘गणतन्त्रलाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारका लागि किन दलहरू गम्भीर बन्न
सकिरहेका छैनन्? संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयतालाई संस्थागत गर्न, बलियो बनाउनको लागि वर्तमानमा देखिएको निर्वाचन प्रणालीमा सुधार गर्न जरुरी छ। म सरकारलाई भन्न चाहन्छु निर्वाचनको मिति घोषणा भइसकेको छ, संघीय संसद चालु रहेको अवस्था छ। यो  निर्वाचनसम्बन्धी कानुन हामीले परिवर्तन गर्नु जरुरी छ, संशोधन गर्नु जरुरी छ। म सरकारलाई यो विषयमा संवेदनशील हुनलाई संसद जारी रहेको अवस्थामा फास्टट्रयाकबाट निर्वाचन कानुन संशोधन गरेर स्वच्छ, निष्पक्ष, सस्तो, सरल ढंगबाट निर्वाचनलाई सम्पन्न गर्नेतिर सरकार संवेदनशील बन्न, दल संवेदनशील बन्नको लागि पनि म आग्रह गर्न चाहन्छु।’

उनले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागु गर्न निर्वाचन आयोगलाई आग्रहसमेत गरिन्।  सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकारसमक्ष माग गरिन्। ।

 

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्