अर्थ मन्त्रालयमा नासुहरूको धर्ना (तस्बिरसहित)

फाइल तस्बिर।

काठमाडौँ – असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नासुहरूले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।

सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौँ, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन्।

आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

यस विषयमा आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रूपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए।

 

उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलबमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए। उनले नासुलाई घृणित र अपमानित व्यवहार गरेको बताए।

उनीहरूले सरकारले चोर बाटोबाट तलब वृद्धि गरेको भन्दै समान तलब वृद्धिको माग गर्न अर्थ मन्त्रालय घेराउ गर्नुपरेको बताएका छन्।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्