बिर्तामोड नगरमा थुप्रियो फोहोर, नगरप्रमुख भन्छिन्, -भद्रभलाद्मीहरूको बुद्धि पलाएन

झापा – गएको केही सातादेखि झापाको प्रमुख सहर बिर्तामोडमा नियमित रूपमा फोहोर उठ्न नसकेपछि चोक र गल्लीहरू दुर्गन्धित भएका छन्।

जताततै फोहोरका डंगुर थुप्रेका कारण सहर कुरूप बन्नुका साथै स्वास्थ्य समस्यामा जटिलता थपिने संभावना पनि रहेको छ।

पूर्वको व्यापारिक केन्द्रको रूपमा चिनिएको बिर्तामोडमा फोहोरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य समस्याका जोखिम बढ्दै गएको छ।

फोहोर व्यवस्थापन गर्ने ठाउँको अभाव भएपछि ठेकेदार कम्पनी निराकार सरसफाइ सेवा प्रालिले उठाएका फोहोर डम्पिङ नहुँदा ट्रयाक्टरमै कुहिने अवस्थामा पुगेको छ।

नगरपालिकाको कार्यपालिकाले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा फोहोर व्यवस्थापनका लागि एउटा कार्यदल पनि बनाएको थियो।

सो कार्यदललाई बिर्तामोडको तत्काल देखिएको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि काम गर्न म्याण्डेट दिएको छ। कार्यदलले अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्न लागि परेको बिर्तामोड नगरपालिकाले जनाएको छ।

अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्नका लागि तीनवटा ठाउँ प्रस्तावित रूपमा हेरिएको तर जग्गा पाए पनि नगरका केही भद्र भनिएकाहरूले भाँजो हालेको नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताइन्।

उनले भनिन्, ‘जबसम्म बिर्तामोडबासीको दिमाग सुध्रिँदैन तबसम्म बिर्तामोडको फोहोरको समस्या उस्तै हुन्छ।’

फोहोर उठाउन ठेक्का पाएको निराकारले फोहोर संकलन शूल्कका नाममा धेरै ठाउँबाट रकम उठाइसकेको छ। रकम तिरिसकेका परिवारले फोहोर व्यवस्थापन नगरेकोमा आक्रोश व्यक्त गर्दै आइरहेका छन्।

बिर्तामोडमा लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसकेपछि सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ।

 

 

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्