‘वडाध्यक्षहरुले राजनीति गरेपछि बजेट पास भएन’

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवालले पालिकाका वडाध्यक्षहरुले राजनीति गर्न थालेपछि हालसम्म पनि बजेट पासन हुन नसकेको बताएका छन् ।

आफू निर्बाचित भएको दलभन्दा फरक दलबाट निर्बाचित वडाध्यक्ष तथा सदस्यहरुले पालिकाको विकासमा ध्यान दिनुको साटाे दलीय राजनीतिमा लागेकोले बजेट पास हुन नसकेको उनले बताए ।

चालु वर्ष २०७९/८० को लागि गाउँपालिकाले ल्याएको बजेट गाउँसभामार्फत पास गर्न खोजेपछि पालिकाका वडाध्यक्ष र सदस्यहरुले राजनीति गरेर जबरजस्ती बजेट पास हुन नदिएको जैसवालको भनाइ छ ।

उनले आफू पालिकाको अध्यक्ष भए पनि बहुमत भने आफ्नो पक्षमा नहुँदा वडाध्यक्षहरुले पालिकालाई राजनीतिको अखडा बनाइदिएको आरोप लगाए ।

बजेट पास गरेर पालिकाको विकासमा लाग्नुपर्ने भए पनि अहिलेसम्म वडाध्यक्षहरुको राजनीतिका कारण बजेट पास नहुँदा विकास निर्माण ठप्प हुन पुगेको जैसवालले गुनासो गरे ।

प्रसौनी गाउँपालिकाले लामो समयपछि बितेको शनिबार आफ्नो ११ औ गाउँसभामार्फत चालु वर्ष २०७९/८० का लागि ४८ करोड ८६ लाखको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ ।

तर, समय भन्दा एक महिना ढिलो गरी ल्याइएको बजेट पनि पारित हुन सकेन ।आफूले वडाध्यक्ष सदस्यलगायत सबैलाई समेटेर अघि बढ्न खोजे पनि विकासको विरोधी तत्वहरुले पालिकालाई विकासको बाटामा जान नदिन षड्यन्त्र गरिरहेको उनको जिकिर छ।

शनिबार नै पालिकाको चालु वर्षको बजेट पास गर्न प्रस्ताव राखेको भए पनि का‌ंग्रेस, माओबादी र नेकपा एकीकृत समाजबादीबाट निर्बाचित वडाध्यक्षहरुले बिरोध गरेर बजेट समेत पास हुन नदिएको जैसवालको भनाइ छ।

‘मेरो पालिकामा म अध्यक्ष भए पनि बहुमत छैन राजनीति बढी हुँदा बजट पास पनि हुन सकेको छैन,’ उनले भने, ‘काँग्रेस, माओवादी, एकीकृतबाट जितेका वडाध्यक्षहरु मिलेर बहुमत हुनबाट रोकिराखेको अवस्था छ ।’

आफूले सबै क्षेत्र तथा वडामा समान ढंगले बजेटको ब्यावस्था गरे पनि बजेट राम्रो भएन मेरो वडामा कम बजेट भयोलगायतका झुटा कुरा गरेर गाउँसभा नै हुन नदिएको जैसवाल बताउँछन् ।

प्रसौनी गाउँपालिकाका अध्यक्ष जैसवाल  एमालेबाट निर्बाचित भएका हुन् । तर,उनीसित आफ्नो दलबाट निर्बाचित जनप्रतिनिधि सदस्यहरु मिलाउँदा पनि उनीसित बहुमत छैन । सात वटा वडा रहेको पालिकाको दुई वटा वडामा नेकपा माओबादी र एक/एक वटा वडामा कांग्रेस र नेकपा एकीकृत समाजबादी पार्टीले वडाध्यक्ष जितेको छ ।

जसकारण अध्यक्ष जैसवाल अल्पमतमा पर्दै आएका छन् । राम्रो कार्य गरी गाउँपालिकाको विकास गर्न इच्छा भए पनि फोहोरी राजनीतिका कारण त्यो पूरा हुन नसकेको गाउँपालिका अध्यक्ष जैसवालले बताए । यता शनिबार राखिएको गाउँपालिकाको ११ औ सभालाई बहिष्कार गरेको कार्यपालिका सदस्यहरुले बताएका छन्। समानुपातिक ढ‌ंगले बजेटको बिनियोजन हुनुपर्ने, विषयगत समितिको बैठक बस्नुपर्ने, ऐनमा छलफल गरेर स‌ंशोधन गर्नुपर्नेलगायत माग राखेर कार्यपालिका सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन्।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्