बर्खास्त न्यायाधीश रेणु शाहको सक्कल फाइल झिकाउन आदेश

काठमाडौँ – बर्खास्तीमा परेका उच्च अदालतकी न्यायाधीश रेणु शाहसँग सम्बन्धित निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी भएकैले सोर्समा २०७५ चैतमा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी शाहलाई ‘योग्यता नपुगेको’ भन्दै न्याय परिषदले असार २४ गते बर्खास्त गर्न सिफारिस गरेको थियो।

परिषदको सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले शाहलाई पदबाट बर्खास्त गरेका थिए। उक्त बर्खास्तीविरुद्ध शाहले बिहीबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पेशी परेका दिन सक्कल फाइल झिकाउन आदेश दिएको हो।

पूर्व प्रधानन्यायाधीश बुवाको ‘सोर्स’मा न्यायाधीश बनेकी शाह बर्खास्त

जारी आदेशमा उल्लेख गरिएको छ, ‘निवेदिका रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागी मिति २०७५/१२/१९ मा र निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९/३/२४ मा न्याय परिषद्बाट गरिएको सिफारिश निर्णय सम्बन्धी सक्कल फायल तथा निजको व्यक्तिगत फायल न्याय परिषद् सचिवालयबाट पेशीका दिन इजलास समक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने।’

शाहले एक दिन पनि कानुन व्यवसायीको रुपमा काम नगरे पनि सोर्सकै आधारमा उच्च अदालतको न्यायाधीश जस्तो महत्वपूर्ण जिम्मेवारी दिइएको थियो।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्