स्वास्थ्य चौकीबाट गाउँपालिकाको सेवा

दाङ – पानी पर्दा छाना चुहिन्छ। घाम लाग्दा पसिना। यही बाध्यताबीच राजपुर गाउँपालिकाका कर्मचारीले पाँच वर्ष काम गरे।

साविक राजपुर गाविसको भवनमा गाउँपालिकाको कार्यालय बस्यो। पछि सेवा प्रवाह गर्न कठिन भयो। स्वास्थ्य चौकीको भवन प्रयोग गरियो। जुन भवनमा अहिले प्रशासन, लेखा, अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष छ।

बाँकी शाखा सभाहलमा पार्टेसन गरेर स्थापना गरिएको छ। कृषि, स्टोर, रोजगार, महिला तथा बालबालिका, योजना, प्राविधिकलगायतको शाखा त्यही सभाहलमा छ।

‘गाउँपालिकाको आफ्नै भवन छैन। हाल प्रशासनिक भवन स्वास्थ्य चौकीको भवनमा छ’, स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले भने, ‘बिरामीलाई उपचार गर्न कठिन परिरहेको छ। नयाँ भवन नबन्दासम्म सेवा प्रवाहमा समस्या छ।’

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन। जसले गर्दा पुरानै अवस्थामा काम गर्नुपर्ने बाध्यता छ। पाँच वर्षे कार्यकालमा राजपुर गाउँपालिकाको केन्द्र र नाम नटुंगिँदा प्रशासनिक भवनलगायत काम प्रभावित बन्न पुग्यो। साविक बेला र राजपुर गाविस मिलेर राजपुर गाउँपालिका बनेको हो। भूगोलको हिसाबले यो पालिका ठूलो छ।

राजपुर गाविस कार्यालय रहेको भवनमा गाउँपालिका स्थापना गरिएको थियो। पालिकाको केन्द्र र नाम परिवर्तन गर्न आवाज उठिरहेको थियो। तर, विगत कार्यकालमा यस विषय टुंगो लाग्न सकेन। पाँच वर्षे कार्यकालका लागि नयाँ जनप्रतिनिधि आएसँगै पालिकाको नाम र केन्द्र तोक्ने विषयले प्राथमिकता पायो। जसअन्तर्गत पालिकाको पहिलो गाउँ सभाले पालिकाको केन्द्र वडा नं. ४ दुलैयामा स्थापना गर्ने र नाम राजपुर–बेला गाउँपालिका राख्ने निर्णय गरेको छ।

‘यो निर्णय कार्यान्वयनमा हामी जाँदै छौँ। पाँच वर्षे कार्यकालमा यो विषयले टुंगो नपाउँदा प्रशासनिक भवनसमेत बन्न सकेन। जसको असर सेवा प्रवाहमा परेको छ’, गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले भने, ‘गाउँ सभाबाट पारित निर्णय कार्यान्वयन गरेर गाउँपालिकालाई नमुना बनाउने योजना छ।’


जिल्लामा अन्य पालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरिसकेको अवस्था छ। तर, राजपुरले आफ्नो प्रशासनिक भवन बनाउनै सकेको छैन।

‘विगतमा टुंगो लागेको भए सजिलो हुने थियो। त्यसो हुन सकेन। हामीले निर्णय गरेर अघि बढेका छौं’, पालिका अध्यक्ष बुढाथोकीले भने, ‘अब प्रशासनिक भवन पनि बन्छ। अस्पताल निर्माण पनि हुन्छ।’

गाउँपालिकाले प्रशासनिक केन्द्र दुलैया बनाउने निर्णय गरेको थियो। दुलैयामा १८ कठ्ठा रहेको त्यही प्रशासनिक केन्द्रको भवन बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ।

पालिका सञ्चालन रहेको राजपुर–६ गंगदीमा १५ शय्याको अस्पताल बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ। प्रशासनिक भवन बनाउन माथिल्लो सरकारबाट ६० प्रतिशत र स्थानीय पालिकाको ४० प्रतिशत बजेट लगाइनेछ।

गाउँसभाबाट पारित भएको निर्णय प्रदेश हुँदै संघीय सरकारसमक्ष पठाइएको छ। दुवै सरकारको स्वीकृतिपछि नाम र केन्द्र परिवर्तनको निर्णय कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताए।

‘पाँच वर्ष सेवाग्राहीलाई पूर्ण सन्तुष्ट बनाएर सेवा प्रवाह गर्न प्रशासनिक असुविधाले केही बाधा पुर्‍यायो। अब सुविधा सम्पन्न प्रशासनिक केन्द्र बनाउने र सबै सेवा त्यहाँबाट प्रवाह गर्न आवश्यक छ,’ उनले भने, ‘गाउँसभाबाट पारित भएको निर्णय कार्यान्वयनमा लैजानुपर्छ।’

दुलैयामा खुसीयाली, गंगदीमा निरासा

पञ्चायतकालदेखि सरकारी प्रशासनिक केन्द्र गंगदी बन्दै आयो। साविक राजपुर गाविस पनि यहीँ बस्यो। नयाँ संविधानअनुसार भएको राज्य पुनःसंरचनाअनुसार गाउँपालिकाको केन्द्र पनि गंगदी नै बन्यो। अब गंगदीमै नयाँ प्रशासनिक भवन बन्ने आशामा स्थानीय थिए। तर, गाउँसभाले पालिकाको केन्द्र सार्ने निर्णय गरेपछि गंगदीका स्थानीयले प्रशासनिक केन्द्र सार्ने निर्णयको विरोध जनाउन थालेका छन्।

‘हामीले ज्ञापन पत्रसमेत बुझाएका छौँ। तर, सुनुवाइ भएको छैन’, स्थानीय पूर्णबहादुर चौधरीले भने, ‘वडा नम्बर ५, ६ र ७ का स्थानीय सबैको राय गंगदीमै प्रशासनिक केन्द्र बनाउने छ।’

स्थानीय तहको निर्वाचनको बेला गंगदीका स्थानीय संग गंगदीनै केन्द्र रहने प्रतिबद्धता गरेको चौधरीले बताउनु भयो। तर, त्यो प्रतिबद्धता अनुसार निर्णय नभएको उनको आरोप छ।

गंगदीमा फरक मत राखिरहँदा दुलैयाका स्थानीय भने गाउँपालिकाको केन्द्र सार्ने निर्णयले खुसी भएका छन्।

‘निर्णय छिटो कार्यान्वयन होस् भन्ने चाहेका छौँ’, स्थानीय उपमाराम यादवले भने, ‘सबै क्षेत्रको सन्तुलित विकास हुनुपर्छ भन्ने मान्यता हामी स्थानीयको छ।’

 

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्