‘विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउने विषयमा कसैसँग सम्झौता हुँदैन’

मोरङ – विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउने विषयमा कसैसँग सम्झौता नहुने विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताएका छन्।

विराटनगरमा सोमबार आयोजित बूढीखोला केशलिया नदी कोरिडोर संरक्षण तथा विकास योजना कार्यक्रममा मेयर कोइरालाले प्रदेश सरकारले राजधानीका लागि भौतिक संरचना निर्माणका गर्न औपचारिक पत्र पठाइनसकेको बताएका थिए।

कार्यक्रममा मेयर कोइरालाले महानगरलाई राजधानी बनाउन आवश्यक भौतिक संरचना प्रदान गर्न महानगर तयार रहेको उल्लेख गरेका थिए।

अहिलको अवस्थामा महानगरभित्र धेरै संरचना तयार भइसकेको भन्दै उनले प्रदेशको संरचना निर्माणका लागि जग्गा आवश्यक हुँदा महानगरले उपलब्ध गराउनेमा जोड दिए।

यसअघि प्रदेश सरकारले बृहत्तर विराट क्षेत्रको अवधारणालाई लिएर विराटनगरलाई राजधानी तोकेको थियो। सो अवस्थामा अझै पनि प्रदेशबाहिर राजधानी निर्माण गर्न सक्ने सम्भावना देखिएको महानगरको बुझाइ छ।

कार्यक्रममा मेयर कोइरालाले प्रदेश सरकारले औपचारिक रुपमा महानगरलाई जग्गाका लागि आग्रह गरे उपलब्ध गराउन तयार रहेको प्रस्ट्याए।

उनले भने, ‘हालसम्म प्रदेश सरकारबाट राजधानीका लागि भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन औपचारिक पत्र आएको छैन। कार्यक्रममा भेटेका बेला उपलब्ध गराइदिनुहोस् भनेर त भएन नि ! सबैको आफ्नै विधि र विधान हुन्छ। महानगरमा औपचारिक पत्र आए छलफल गरेर जग्गा उपलब्ध गराउँछौं।’

प्रदेशको राजधानीका संरचना एकै ठाउँ हुनुपर्नेमा उनको जोड थियो। मेयर कोइरालाले भने, ‘राजधानी भनेको अंशबण्डा गरेजस्तो होइन, धेरैतिर संरचना छरिँदा मन्त्रालयबीच समन्वय अभाव हुन्छ। प्रदेशसभा र मन्त्रिपरिषद् कार्यालय आउँदा र जाँदा समय बर्वाद हुन्छ। इन्धन खर्च हुन्छ।’

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीलगायत सहभागी थिए।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्