सिट बाँडफाँड कार्यदलको संयोजकमा सिटौला, प्रवक्तामा कार्की

कृष्ण सिटौला।

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको सिट बाँडफाँडका लागि बनाएको कार्यदलले काम सुरु गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो बैठक बसेर कार्यदलले छलफल सुरु गरेको हो। पहिलो बैठकले कार्यदलको संयोजकमा जेष्ठ सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेका छ भने मिडिया ब्रिफिङको जिम्मेवारी सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले पाएका छन्।

कार्कीबाहेक अरुले सिट बाँडफाँडबारे भएका छलफलबारे अरुले मिडियालाई नभन्ने निर्णय भएको एक सदस्यले जानकारी दिए।

पहिलो दिनको बैठकमा सिट बाँडफाँडको मापदण्डबारे सामान्य छलफल भएको ती सदस्यले बताए। उनले भने, ‘पहिलो बैठक भएकाले सिट बाँडफाँडबारे सामान्य छलफल सुरु भएको छ। मापदण्ड बनाएर जाने कुरा भएको छ। त्यसको तयारीमा हामी लागेका छौँ।’

कार्यदलको बैठक दुई दिनपछि बस्नेछ। गठबन्धनले सिट संख्या बाँडफाँड मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई/दुई जना सदस्य छन्। कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्।

माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा छन्। नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन्।

जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्