‘चोर बाटो’बाट गरिएको अधिकृतहरुको उच्च तलब वृद्धि फिर्ता

काठमाडौँ – चोर बाटोबाट अधिकृतदेखि सचिवसम्मको बढाइएको अतिरिक्त तलब वृद्धि फिर्ता भएको छ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले क्षेत्राधिकार मिचेर दिएको निर्देशनका आधारमा बढाउन लागिएको तलब कर्मचारीहरु नै आन्दोलित भएपछि अर्थ मन्त्रालयले तत्काल यो निर्णय कार्यान्वयन नगर्ने भएको हो।

बजेट भाषणमार्फत सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाए पनि अधिकृतदेखि सचिवसम्मको तबल भने २४ प्रतिशतसम्म बढाउने गरी अर्थ मन्त्रालयले तलबको नयाँ रोष्टर सबै सरकारी कार्यालयलाई पठाएको थियो।

आइतबार देश सञ्चारमा उक्त समाचार सार्वजनिक भएपछि असमान रुपमा तलब वृद्धि गरिएको भन्दै तल्ला तहका कर्मचारीहरु अर्थ मन्त्रालय घेर्न पुगेपछि निर्णय तत्काल कार्यान्वय नहुने भएको हो।

कर्मचारी ट्रेड युनियले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर असमान रुपमा तलब वृद्धि नगर्न ध्यानाकर्षण गराएको थियो। यदि अधिकृत तहको मात्रै तलब चोर बाटोबाट बढाउने हो भने आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका थिए। ट्रेड युनियनसँगको भेटमा शर्माले तत्काल १५ प्रतिशत मात्रै तलब बढाउने प्रतिबद्धता जनाएको भेटमा सहभागी एक ट्रेड युनियनका नेताले जानकारी दिए।

शर्माले वरियता र तलबमान समायोजनका लागि छुट्टै आयोग बनाएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

संसदको स्वीकृतविना राज्य कोषको रकम खर्च गर्न नपाइने भए पनि कर्मचारीहरुले संसदीय समितिलाई प्रयोग गरेका थिए। उनीहरुले चाहे अनुसार तलब वृद्धि भएको भए अघिल्लो महिनासम्म ३७ हजार ९९० तलब पाएका अधिकृतहरुले साउन महिनाबाट ४७ हजार २ सय ८ रुपैयाँ तलब पाउने थिए।

जबकी १५ प्रतिशतले मात्रै बढ्दा उनीहरुले ४३ हजार ६८९ तलब पाउने अवस्था थियो। यस हिसाबले अधिकृतको तलब २४ प्रतिशतले वृद्धि हुने गरी अर्थले साउनदेखि कार्यान्वयन गर्न सबै सरकारी कार्यालयलाई पत्राचार गरेको थियो।

त्यस्तै उपसचिवको तलब २३.३ प्रतिशतले वृद्धि भएर ५२ दुई सय ७९ पुगेको अवस्था थियो। जबकी बजेट भाषणमा भनेअनुसार मात्रै तलब वृद्धि हुँदा उपसचिवले ४८ हजार ७ ३७ रुपैयाँ पाउँछन्।

सहसचिवको तलब पनि ४९ हजार ३८० बाट बढेर ६१ हजार ०५० पुग्न लागेको थियो। १५ प्रतिशत बढ्दा ५६ हजार ७७८ तलब पाउने सहसचिवहरुले अब २३.६ प्रतिशत बढी पाउने भएका थिए।

त्यसै गरी सचिवको ६२ हजार १४० तलब पाउँदै आएका सचिवहरुले १५ प्रतिशत बढ्दा ७२ हजार ८२ रुपैयाँ पाउने भए पनि चोर बाटोबाट १८.४ प्रतिशतले वृद्धि हुँदा ७४ हजार २२१ पाउने भएका थिए। तर नासुहरुको आन्दोलनका कारण फिर्ता भएको छ।

सोमबार आफ्नो पनि अधिकृतहरु सरह नै तलब वृद्धिको माग गर्दै नासुहरु अर्थ मन्त्रालय घेर्न पुगेका थिए।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्