नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकर को हुन्?

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

क्यानले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। यसअघि मुख्य प्रशिक्षक रहेका पुबुदु दसानायकेले व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि नेपाली क्रिकेट प्रशिक्षकविहीन थियो।

पुबुदुले व्यक्तिगत कारण देखाएपछि राजीनामा दिएको केही घण्टामै उनी क्यानडाको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। नेपाली क्रिकेटभित्र झाँगिएको गुटबन्दीका कारण पुबुदु नेपालबाट बाहिरिएको बताइन्छ।

पुबुदुको बहिर्गमनपछि नेपाली क्रिकेटले प्रभाकरलाई प्रशिक्षकको रुपमा पाएको छ। प्रशिक्षकका रुपमा यसअघि अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोली सम्हालिसकेका प्रभाकरले आफू नेपाली क्रिकेटलाई अझ बलियो बनाउन उत्सुक रहेको बताएका छन्।

प्रशिक्षक नियुक्त भएपछि उनले भने, ‘नेपालमा क्रिकेटप्रतिको चासो, प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई बलियो बनाउनको लागि काम गर्न साँच्चै उत्सुक छु।’

उनले भारतको घरेलु क्रिकेट रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेशको क्रिकेट टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।

उनले भारतको राष्ट्रिय क्रिकेट टोलीबाट करिब १२ वर्ष क्रिकेट खेले। सन् १९८४ डिसेम्बर १२ मा उनले इंग्ल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। भारतका लागि ३९ टेस्ट खेलेका उनले १६ सय रन बनाए। जसमा एक शतक र ९ अर्धशतक सामेल छन्।

भारतीय टीममा अलराउण्डरको रुपमा रहेका उनले बलिङतर्फ ९७ लिएका छन्। उनले अन्तिम टेस्ट सन् १९९५ नोभेम्बर ८ मा न्यूजिल्याण्डविरुद् खेलेका थिए।

उनले एकदिवसीय क्रिकेटमा सन् १९८४ अप्रिल ८ मा श्रीलंकाविरुद्ध डेब्यू गरेका थियो। उनले भारतका लागि १३० एकदिवसीय खेले। जसमा १ हजार ८५८ रन बनाएका छन्। जसमा दुई शतक र ११ अर्धशतक सामेल छन्।

एकदिवसीय क्रिकेटमा उनले भारतका लागि बलिङतर्फ १५७ विकेट लिएका छन्। उनले श्रीलंकाविरुद्ध सन् १९९६ मार्च २ मा भारतका लागि अन्तिम एकदिवसीय खेलेका थिए।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्