बालेन शाहलाई नर्भिक अस्पतालले भन्यो- तत्काल टहरा भत्काउन सकिँदैन

काठमाडौँ- थापाथलीस्थित नर्भिक अस्पतालले काठमाडौँ महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसक्ने स्पष्टीकरण दिएको छ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन्।

२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भई उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको कारण २४ घण्टाभित्र खाली गर्न नसकिने सिंहले बताए।

यसअघि काठमाडौँ महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो।

आज २ बजेसम्मको अल्टिमेटम दिँदै महानगरले अन्यथा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

नर्भिक अस्पतालले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाका मेयर बालेन साहले सोमबार निर्देशन दिएका थिए।

सो निर्देशन तत्काल पालना गर्न नसक्ने अस्पतालले जनाएको छ।

 

 

 

साउन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्