सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ देखि २० गतेसम्म

काठमाडौँ – नेपाल उद्योग परिसंघले कात्तिक १७ गतेदेखि २० गतेसम्म सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ।

परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो।

चार दिने मेलामा २ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा बृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुतिसमेत हुने बताए।

उनले मेलामा आफ्नो क्षमताअनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क तथा छलफल गर्न सकिने बताए।अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमूलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताए।

परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ।

सरकार तथा अन्य सरोकारवालाहरुलाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरुको समेत पहिचान हुने विश्वास लिएको छ।  नेपालमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ।

साउन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्