बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु

बुटवल – बुटवलमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ।

जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको उनले बताए।

बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरुबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम उपमहानगरपालिकाले गरिरहेको उनले बताए।

नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षहरुको सल्लाहअनुसार लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए। उनले खोज र नष्ट गर अभियान निरन्तर सञ्चालन हुने र थप सचेतना फैलाउने काम गरिने बताए।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १, ५ र ६ मा खोज र नष्ट गर अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उनको भनाइ छ।

यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवलका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ।

बुटवल उपमहानगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गरेका थिए।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गरे।

उपप्रमुख सावित्रादेवी अर्यालले डेंगुबाट जोगिन सरसफाइका साथसाथै सावधानी अपनाउनुपर्ने बताइन्। कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

साउन २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्