श्रीलंकामा १२३ दिनपछि सरकार विरोधी आन्दोलन समाप्त

एजेन्सी- श्रीलंकामा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध सुरु भएको आन्दोलन १२३ दिनपछि मंगलबार सकिएको छ। तर, आन्दोलनकारीहरूले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ।

आन्दोलनकारीले अप्रिल ९ मा गाले फेसमा सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए र ‘गोटा गाे हाेम’ भन्ने नाराका साथ अभियानलाई ब्रान्ड गरेका थिए।

‘हामीले सामूहिक रूपमा आज गाले फेस विरोध स्थल छोड्ने निर्णय गरेका छौँ। यसको मतलब हाम्रो संघर्ष समाप्त भएको होइन’, आन्दोलनकारी समूहका प्रवक्ता मनोज नानायकाराले भने।

अर्का एक कार्यकर्ता दर्शन कन्नंगारा भन्छन्, ‘हामीले आन्दोलन स्थलमा अभियान समाप्त गरेका छौँ तर प्रणाली परिवर्तन नभएसम्म जारी गर्नेछाैँ।’

संसदले पूर्वप्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई सन् २०१४ सम्म राजापाक्षेको कार्यकाल पूरा गर्न निर्वाचित गरेपछि प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थल छोड्न दबाब परेको थियो।

राष्ट्रपति बनेपछि विक्रमासिङ्घेले सेना र प्रहरीलाई आन्दोलनकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए। त्यसपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई राष्ट्रपति भवन र राजभवनका भवनबाट जबरजस्ती हटाए।

जुलाई २२ मा, सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई राष्ट्रपति सचिवालयबाट हटाए। आन्दोलनकारीले ९ अप्रिलपछि राष्ट्रपतिको गेट र राष्ट्रपति सचिवालय कब्जा गरेका थिए ।

प्रहरीले गत साता आन्दोलनकारीलाई ५ अगस्टसम्म गाले फेस खाली गर्न भनेकाे थियो तर उनीहरूले आदेशको अवहेलना गर्दै आन्दोलन गर्ने अधिकार दाबी गर्दै अदालतमा रिट दायर गरेका थिए।  पछि आन्दोलनकारीले काले फेस छाड्ने घोषणा गरेपछि उनीहरूले आफ्नो रिट फिर्ता लिएका छन्।

गत महिना गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स र त्यसपछि सिंगापुर गएका थिए। यसपछि १४ जुलाईमा, प्रदर्शनकारीहरूले उनको सरकारी निवासमा आक्रमण गरे र त्यसपछि धेरै प्रमुख सरकारी भवनहरू कब्जा गरे।

यसअघि उनका भाइ महिन्दा राजापाक्षेले मेमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए भने परिवारका अन्य चार सदस्यले पनि मन्त्री पदबाट राजीनामा दिएका थिए।

प्रदर्शनकारीहरूले राजापाक्षे परिवारले अव्यवस्था र भ्रष्टाचार गरेर देशलाई समस्यामा पारेको आरोप लगाएका छन्। ९ अप्रिलमा प्रमुख सहरहरूमा साना आन्दोलनहरू भए जुन पछि जनआन्दोलनमा परिणत भयो।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्