शौचालय जाने बाहनामा कोशी अस्पतालबाट कोरोना संक्रमित ‘फरार’

मोरङ – विराटनगरमा कोरोनाको उपचारका लागि भर्ना भएका संक्रमित अस्पतालबाट भागेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार प्रहरीको निगरानीमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारत ४५ वर्षीय लक्ष्मण दास शौचालय जाने बहानामा फरार भएका हुन्।

फरार रहेका दासको खोजी तीव्र पारेर घटनाको छानबिन अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।

विराटनगर–१८ का स्थानीय भनिएका दासको उपचार केन्द्रमा भर्ना गराउँदा ठेगाना विराटनगर–१६ लेखिएको छ। दास विगत ३ वर्षअघि लेनदेन मामिलामा दोषी ठहर भएका व्यक्ति हुन्। तर, उनी फरार थिए। उनी साउन २० गते पक्राउ परेका थिए। दासलाई कोरोना संक्रमण भएपछि थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार शौचालय जाने क्रममा दास बुधबार राति करिब १० बजे अस्पताल परिसरबाट भागेका हुन्। दास विराटनगर–१८ का स्थानीय भए पनि उपचारका लागि विराटनगर १६ भनेर ठेगाना टिपाइएको उनले जानकारी दिए।

लेनदेन मुद्दामा दोषी ठहर गर्दै गत २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाइए पनि दास फरार अवस्थामा रहेका थिए। विगत तीन वर्षदेखि फरार रहेका दासलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्ने क्रममा दासलाई कोरोना पोजिटिभ देखिएको थियो। उपचारका लागि साउन २० गते नै कोभिड अस्पताल भर्ना गरिएको थियो।

दासको निगरानी एवं सुरक्षामा प्रहरी हवल्दार होमबहादुर बुढाथोकी र सहायक हवल्दार उमेश यादवलाई खटिएका थिए। मोरङ प्रहरीले दासको सुरक्षा एवं निगरानीमा खटिएका प्रहरीमाथि छानबिन थालेको छ। हाल उपचार केन्द्रमा ६ जना संक्रमित उपचाररत छन्।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्