‘प्रकाश’मा सीता बनेकी दिया मास्के भन्छिन्- जुम्लाकाे जीवनले धेरै प्रेरणा दिएकाे छ

दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन्। उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन्। त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन्।

उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनिन्। जुम्लामा ४५ दिनको हाराहारीमा छायांकन भए पनि उनी त्यहाँ दुई महिना बसेकी थिइन्। उनी त्यहाँ दुई साता बढी बस्नुको कारण भूमिकालाई जीवन्त बनाउनु थियो।

सम्पन्नतामा बाल्यकाल बिताएकी मात्र नभई एसएलसीपछि नेपाली भाषा जानेकी दियाले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको मेहनत त प्रशंसायोग्य छ नै, साथै उनले स्वीकारेको भूमिका पनि आफैँमा च्यालेन्जिङ छ। किनकि उनले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छिन्। उनी आफ्नो उमेरभन्दा बढी उमेरको भूमिकामा प्रस्तुत भएकी छिन्।

श्रीमान् नभए पनि छोरालाई शिक्षक बनाउन संघर्ष गरेकी महिला हुन्- सीता। आफ्नो परिवारको निर्णय आफैँले लिनुपर्ने, घरमुलीको दायित्व निर्वाह गर्नुपर्ने सीताले जुम्लाको द्वन्द्वपछि श्रीमान् नभएकी एकल महिलाको भूमिका निभाएकी हुन्। उनी सक्षम छिन्, तर उनलाई सघाउन नयाँ व्यवस्था मितव्ययी छैन। त्यसैले उनी श्रीमानको सपनालाई पूरा गर्न र छोरा शिक्षक बनेको हेर्न संघर्षरत छिन्।

‘सीतामार्फत दियाले धेरै कुरा सिकेकी छिन्। घरमुलीको दायित्वसँगै समाजसँग गर्ने संघर्ष र त्यो जुम्लाको जीवनले धेरै प्रेरणा दिएको छ’, उनले भनिन्।

फिल्ममा अन्तिम समयमा जोडिएकी दियाले आफ्नो क्यारेक्टरको बारेमा स्क्रिप्टमै बुझेकी थिइन्। त्यसलाई जीवन्त बनाउन उनले छायांकनबाहेक दुई साताभन्दा बढी समय जुम्लामा बिताइन्। त्यहाँको स्थानीय महिलाले गर्ने व्यवहार, उनीहरू शारीरिक अवस्था, संघर्ष, हाउभाउलाई एडप्ट गरिन्। फलतः उनले डोको बोक्नेदेखि हलो जोत्नेसम्म गरिन्। उनले आफूलाई जीवन्त बनाउन छायांकन अवधिभरि झन्डै ४५ दिनसम्म शरीरको देखिने भाग हात, खुट्टा, घाँटी सफा गरिनन्।

उनले आफूलाई जुम्लेली नै बनाइन्। त्यसले उनलाई क्यारेक्टरमा रहन मद्दत गर्‍याे। त्यो समयमा उनको हातखुट्टा, ओठ पनि फुटेको थियो। समय बित्दै गएपछि ती भागमा सुख्खा भएर रगतसम्म आउँथ्यो। त्यसबाट उनलाई रिकभर हुन् अहिलेसम्म समय लागेको छ। केही असर अझै बाँकी छन्।

‘सबै कुरा मेकअपमा मात्र डिपेन्ड हुनु हुन्न् भनेर ४५ दिन जति देखिने शरीरको भागलाई सफा गरिनँ। किनकि बाहिरी आवरणले मात्र त्यो पात्रमा जीवन भर्न सहज थिएन’, दियाले भनिन्।

फिल्मको छायांकनको अवधिमा मेकअप वा अन्य कारणले क्यारेक्टरलाई जीवन्त बनाउन नसकिने भएकाले उनले त्यस्तो गरेकी हुन्.

पहिलोपटक दलनमा काम गर्दा निकै समस्या झेलेकी दिया अहिले भने क्यारेक्टरलाई सजिलै एडप्ट गर्नुका साथै छाड्न पनि सक्छिन्। यद्यपि त्यसका लागि उनले गर्ने मेहनत छँदैछन्। सीताको भूमिका निर्वाह गर्दै गर्दा उनलाई केही निर्देशकले अब आफ्नो उमेरअनुसारको भूमिका नपाउन सक्नेतर्फ संकेत पनि नगरेका होइनन्। तर यसलाई उनी सहजै लिइन्।

‘मैले कुनै क्यारेक्टर गर्छु भने त्यहाँ दिया नभई त्यही क्यारेक्टर देखिनुपर्छ। त्यही प्रयास रहन्छ। मैले एउटा रोल गर्दा अर्को खोसिन्छ भने त्यसमा म सोच्दिनँ’, उनले भनिन्।

सीताले गर्ने दुःख जुम्लाकी महिलाले सहजै गर्छन्। पर्दामा आफ्नो भूमिका असुहाउँदो नदेखियोस् भनेर नै उनले सक्दो जीवन भर्ने प्रयास गरिन्। उनी जुम्ला पुगेर भाषा मात्र नभई जीवनशैलीमै पस्ने प्रयास गरिन्। उनले डोको बोक्ने महिलाको थाप्लो चुल्ठो बाट्ने तरिका, सुल्पा खाने बानी सिकिन्। उनी डाँडामा पुगेर बारीमा मल छर्ने, हल जोत्ने काम गरिन्। उनलाई सुल्पा खाने बानीले असर पनि गर्‍याे। उनले काठमाडौँ फर्किएपछि आफ्नो शारीरिक जाँचसमेत गराइन् किनकि उनकाे छातीमा केही समस्या आएको थियो।

‘मैले स्थानीय बनेपछि त्यहाँ हुने हरेक गतिविधि गर्नुपर्ने हुन्छ। जुम्लाकै कसैले फिल्म हेर्दा बाहिरी नलागोस् भनेर सुल्पासमेत तानेकी हुँ’, उनले भनिन्।

त्यसो त उनले सीतालाई जिउने मानसिक रूपमा तयारी गरे पनि शारीरिक रूपमा मेकअपको सहारा लिने सोच बनाएकी थिइन्। तर छायांकन हुनु दुई साता अगाडि नै जुम्ला पुगेपछि उनले मेकअपभन्दा पनि स्थानीयकै जीवनशैली अपाउने निश्चय गरिन्। फलतः मेकअपसँगै उनमा देखिएको जीवन्त अभिनय उनकै मेहनतको प्रतिफल हो।

दिया आफ्नो काममा इमान्दारिता देखाउन कन्जुस्याइँ गर्दिनन्। यसलाई दर्शकले कसरी लिन्छन् भन्ने सोच्नेभन्दा पनि आफ्नो भूमिकालाई जीवन्त बनाउनेतर्फ उनको बढी समय जान्छ। उनले आउने प्रतिक्रियाले हौसला मिल्ने भए पनि आफ्नो काम प्रतिको इमान्दारिताकै रूपमा मात्र यसलाई लिन्छिन्।

दियाले भनिन्, ‘मैले आफूले पाएको भूमिकालाई जीवन्त बनाउन गर्ने मेहनत इमान्दारिताका साथ गर्नुपर्छ। त्यसलाई दर्शकले नोटिस गरिदिनुभएमा सुनमा सुगन्ध हुन्छ। नत्र आउने प्रतिक्रियाका आधारमा एउटा कलाकारले अभिनय गर्नुहुन्न। हामीले आफ्नो तर्फबाट इमान्दारिताका साथ काम गर्ने हो।’

महेन्द्र अधिकारी जस्ता निर्माताले मौलिक कथालाई मौलिक तरिकाले ल्याउन गरेको आँटको पनि उनी तारिफ गर्छिन्। दिनेश राउतको निर्देशकीय शैलीले पनि उनलाई काम गर्न सहज भयो। फिल्ममा दिया र प्रदीपसँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्वपश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्छ। समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ। आगामी १० भदौदेखि प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्