चीनले नेपाललाई दियो १५ अर्बको सहायता, कुन-कुन क्षेत्र प्राथमिकतामा?

काठमाडौँ- चीन सरकारले नेपाललाई ८ सय मिलियन आरएमबी (१५ अर्ब नेपाली रुपैयाँ) सहायता उपलब्ध गराउने घोषणा गरेको छ। चीनले यस वर्षका लागि नेपाललाई त्यो परिमाणमा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको तीनदिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले बुधबार यो सहयोग घोषणा गरेका हुन्।

नेपाली पक्षको आग्रहमा चिनियाँ पक्ष रायायनिक मल उपलब्ध गराउनसमेत सकारात्मक भएको छ। चीनले नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्नेसमेत बताएको छ।

त्यस्तै, चिनियाँ विदेश मन्त्री वाङ यीले नेपालको उत्पादकत्व बढाउन चिनियाँ लगानीलाई प्रोत्साहन गर्दै नेपाली चिया तथा परम्परागत जडिबुटी निर्यातमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भेटका क्रममा दुबै मन्त्रीले सीमा क्षेत्रमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र निर्माण गर्नेदेखि रसुवा-केरुङ र तातोपानी जाङ्मु नाका व्यापारका लागि दुईतर्फी सञ्चालन गर्ने तथा हिल्सा पुलाङ बन्दरगाह एकतर्फी रुपमा सञ्चालन गर्ने विषयमा सहमति प्रकट गरेको पनि मन्त्रालयले जानकारी दिएको छ।

नेपालको आग्रहअनुसार चीनले ३ मिलियन आरएमबी बराबरको प्रकोप राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै चीनले २ मिलियन आरएमबी बराबरको स्वास्थ्य सामग्री तथा रसद उपलब्ध गराउने घोषणा गरेको छ।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्