बारामा प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा नष्ट

वीरगञ्ज – बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध घरेलु मदिरा नष्ट गरेको छ। प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गंजभवानीपुर टोलमा मदिरा नष्ट गरेको हो।

प्रहरीले भट्टीहरुबाट उत्पादन गरिएको १० हजार लिटर तयारी घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

त्यहाँ रहेका पक्की घरभित्र १०/१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरका रक्सी उत्पादन गरी लुकाइछिपाइ भण्डारण गरी राखिएका १७ वटा अवैध भट्टीहरू नष्ट गरिएको उनले बताए।

रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुँडा, ड्रमहरू नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको थापाले बताए।

बारामा अहिले भर्खरै सरुवा भएर नयाँ प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक होबिन्द्र बोगटी आएका छन्। उनी आएसँगै घरेलु मदिरा उत्पादन गरिने भट्टीहरुमा कारबाही सुरु भएको हो।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्