भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी। फाइल तस्बिर।

काठमाडौँ – चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ।

विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। रिटमाथि सोमबार पेसी तोकिएको छ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट निवेदन दायर भएको जानकारी दिए। ‘उहाँ (भुवन केसी) विरुद्ध रिट निवेदन दायर भएको छ, कागजपत्र हेर्दैछु,’ पौडेलले बताए।

केसीको शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण मात्र छ। तर, विकास बोर्ड अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ।

केसीविरुद्ध एक अभिनेत्रीले काठमाडौँ जिल्ला अदालतमा हालेको दुर्व्यवहारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ। केसीविरुद्ध विकास बोर्डमै दर्जनौं उजुरी परेका छन्।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्