चीनलाई नेपालको जवाफः अमेरिकासँगको सम्बन्ध विकास साझेदारसम्म मात्रै

काठमाडौँ – अमेरिकासँग कुनै पनि खालको सैन्य सम्बन्ध नभएको जवाफ नेपालले चीनलाई दिएको छ।

चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले समकक्षी वाङ यीसँगको भेटमा अमेरिकासँगको सम्बन्धलाई लिएर चिन्तित नहुन आग्रह गरेका हुन्।

बुधबार स्टेट काउन्सिलरसमेत रहेका वाङसँगको छलफलका क्रममा खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अमेरिकासँग हाम्रो सम्बन्धन विकास साझेदार मात्रै हो। कुनै पनि सैन्य खालको सम्बन्धमा हामी छैनौँ।’

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले आफ्नो कुटनीतिक सक्रियता देखाउँदै परराष्ट्रमन्त्री खड्कालाई आमन्त्रण गरेको थियो। यही साउन १७ गते अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले व्यापक कूटनीतिक सक्रियता देखाउँदै आएको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत सभामुख पेलोसीको भ्रमणप्रति धारणा सार्वजनिक गर्न आग्रह गरेको थियो। भेटका क्रममा पनि वाङले चीनप्रति नेपालको प्रतिबद्धता खोजेका थिए।

जवाफ खड्काले चीनको नीतिप्रति सदैव नेपालको साथ रहने बताए। स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल अडिग रहेको र ताइवान, तिब्बतजस्ता क्षेत्रमा चीनले अघि सारेको मान्यतालाई साथ दिने बताए।

भ्रमणबाट फर्किने क्रममा परराष्ट्रमन्त्री खड्काले आफ्नो चीन भ्रमण सफल भएको जानकारी दिएका छन्। उनले भ्रमणका क्रममा महत्वपूर्ण समझदारी भएको आफ्नो लिखित मन्तव्यमा राखेका छन्।

‘हिजो म र मेरा चिनियाँ समकक्षीबीच भएको प्रतिनिधिमण्डलस्तरको वार्तामा हामीले नेपाल–चीन सम्बन्ध तथा सहयोगका महत्वपूर्ण विषयहरुमा कुराकानी गर्नुका साथै द्विपक्षीय व्यापार, सम्पर्क सन्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको सम्बन्धजस्ता क्षेत्रहरुमा थप सहयोग प्रवर्द्धन गर्न सहमत भएका छौँ, खड्काले अगाडि भनेका छन्,

‘मेरा चिनियाँ समकक्षीको गत मार्च २०२२ मा भएको नेपाल भ्रमणपश्चात दुई देशको सम्बन्धमा भएका प्रगतिका बारेमा समीक्षा गरिएको छ। उक्त भ्रमणपश्चात धेरै कुराहरु अगाडि बढेको यहाँहरुलाई अवगत नै छ। विभिन्न संयन्त्रहरुका बैठकहरु सम्पन्न भएका छन् भने नेपाल–चीन हवाई सुचारु हुनुका साथै नेपाली विद्यार्थीको चीन फिर्ता हुने क्रम सुरु भइसकेको छ।’

दुई देशबीचको समग्र सम्बन्धका बारेमा छलफल भएको भेटमा चीनले बिआरआई कार्यान्वयनका लागि ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गरेको छ। नेपालले २०१७ मै बिआरआईमा हस्ताक्षर गरे पनि त्यसको कार्यान्वयको पाटो अझै सुरु भएको छैन।

वाङले खड्कालाई काठमाडौँको चक्रपथ विस्तार तथा स्तर उन्नति, नेपालको हिमाली क्षेत्रमा विद्युत् नेटवर्क विस्तारका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन्। त्यस्तै नेपालबाट चीन निर्यात हुने सामाग्रीमा थप कर छुट दिने प्रस्ताव पनि अघि सारेको छ।

चीनले शून्य भन्सार नीति अन्तर्गत ८९ प्रतिशत कर छुट दिएर २ प्रतिशत मात्रै लाग्ने गरी सामाग्रीमा निर्यातका लागि सहज गरिदिने प्रस्ताव गरेको छ। तर कुन कुन वस्तुमा भन्सार छुट दिने भन्ने टुंगो लाग्न बाँकी छ। भेटका क्रममा चीनले नेपाललाई ८० करोड आरएमबी (१५ अर्ब रुपैयाँ) आर्थिक सहायता दिने घोषणा पनि गरेको छ।

भेटका क्रममा कोरोनाका कारण चीनमा अध्ययन गर्दागर्दै आएका विद्यार्थी फर्काउने, कोरोनाविरुद्धको भ्याक्सिन साहायतालाई निरन्तरता दिने, न्युक्लोमियाको उपचारमा आर्थिक तथा प्राविधिक सहयोग गर्नेलाई निरन्तरता दिने विषयमा कुराकानी भएको छ।

नेपालको आग्रहमा चीनले तीन मिलियन आरएमबी बराबरको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि अत्यावश्यक उद्दार तथा बन्दोबस्तीका सामानहरु र दुई मिलियन आरएसबी बराबरको औषधि तथा स्वास्थ्य साम्रगीहरु प्रदान गर्न चिनियाँ पक्ष सहमत भएको बताए।

यस्तो छ परराष्ट्रमन्त्री खड्को लिखित मनतव्यः

 

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्