निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध छः मन्त्री बडू

फाइल फोटो।

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन्।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।

उनले सरकार निजी क्षेत्रसँग साझेदारीमा र पूर्ण विश्वासका साथ काम गर्न चाहेको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा नै अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न चाहेको बताए।

मन्त्री बडूले सरकारले आफ्नो सीमाभित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताए। उनले मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्ने पनि बताए।

उनले अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको उल्लेख गरे।

मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए। उनले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै नजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गरे।

उनले भने, ‘सरकार निजी क्षेत्रसँग साझेदारीमा काम गर्न चाहन्छ। निजी क्षेत्रले गरेको अपेक्षा पूर्ण रुपमा पूरा हुन्छ। निजी क्षेत्रसँग हामी पूर्ण विश्वास गर्न चाहन्छौँ। सरकार अहिलेको आर्थिक अवस्थालाई सुधार्न चाहन्छ। सरकारको सीमाभित्र रहेर निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ। अफ्ठ्यारा काम फुकाउन सरकार तयार छ।’

मन्त्री बडूले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढिरहेको बताए। उनले निजी क्षेत्रलाई सरकार स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिवद्ध रहेको बताए।

साउन २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्