लेखक सलमान रुश्दी भेन्टिलेटरमा, एउटा आँखा गुम्न सक्ने

लेखक सलमान रुश्दीमाथि अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रमको क्रममा आक्रमण भएको छ । उनमाथि स्टेजमा रहेका बेला चक्कु आक्रमण भएको हो ।

उनको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुश्दीका एजेन्टले उनको अवस्थालाई इंगित गर्दै ‘खबर राम्रो नरहेको’ बताएका छन्। भेन्टिलेटरमा रहेका लेखक रुश्दी बोल्न नसक्ने अवस्थामा रहेको उनका एजेन्ट एन्ड्र्यू वाइलीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

लेखकले एक आँखा गुमाउने जनाइएको छ । रुश्दीमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो । सन् १९९८ मा प्रकाशित भएको ‘द सटानिक भर्सेज’ उपन्यासपछि उनीमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो ।

प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा २४ वर्षका हादी मातरलाई न्यू जर्सीको फेयरभ्यूबाट पक्राउ गरेको छ। अन्तर्वार्ता भइरहेका बेला आक्रमणकारी कुदेर स्टेजमा गइ लेखक रुश्दी र अन्तर्वार्ताकारमाथि आक्रमण गरेको न्यूयोर्क प्रहरीले जनाएको छ ।

‘सलमानले एक आँखा गुमाउने सम्भावना छ, उनको पाखुराका नसामा गम्भीर असर परेको छ, कलेजो आक्रमणबाट क्षतिग्रस्त भएको छ’, एजेन्ट वाइलीले वक्तव्यमा उल्लेख छ ।

 

तस्बिरहरु : गेट्टी इमेज र रोयटर्स

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्