क्रिकेट टाेलीका प्रशिक्षक प्रभाकर आज साँझ काठमाडाैँ आउँदै

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन्। उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ।

नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो। क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट राजीनामा दिएका थिए।

भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभावकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन्। नेपालले केन्याविरुद्ध पाँच ट्वान्टी २० र तीन एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ।

जसका लागि खेलाडी छनोट समेत भइसकेको छ। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने कुशल भुर्तेल टिम बाहिर छन्। यसैगरी विनोद भण्डारी पनि बाहिर छन्।

प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरू दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्