हास्यकलाकार राजु श्रीवास्तवकाे स्वास्थ्यमा आएन सुधार, ३ दिनदेखि आइसियूमै

एजेन्सी-  भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा कुनै सुधार नभएको बताइएकाे छ।

हाल उनी एम्स अस्पतालको आइसियूमै छन्।

अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले भन्यो, ‘राजु श्रीवास्तवको अवस्था नाजुक छ र उहाँ भेन्टिलेटरमा हुनुहुन्छ। उहाँको अवस्थामा कुनै सुधार आएको छैन। अस्पतालमा भर्ना भएदेखि उहाँलाई होश आएको छैन।’

५८ वर्षीय श्रीवास्तव बुधबार जिममा व्यायाम गर्ने क्रममा हृदयघातकाे सिकार भएका थिए। त्यसपछि उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो। सोही दिन उनको एन्जियोप्लास्टी पनि गरिएको थियो।

एम्सको कार्डियोलोजी विभागका प्राध्यापक डा. नितिश नाइकले उनकाे उपचार गरिरहेका छन्।

यसअघि शुक्रबार राजु श्रीवास्तवको परिवारले पनि आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा एक विज्ञप्ति जारी गरेको थियो, जसमा उनको अवस्था ‘स्थिर’ रहेको बताइएको थियो।

“राजु श्रीवास्तवको अवस्था स्थिर छ। हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। डाक्टरहरूले उहाँको उपचारको लागि सक्दो प्रयास गरिरहेका छन्। निरन्तर माया र सहयोगको लागि सबै शुभचिन्तकहरूलाई धन्यवाद’, परिवारले एक विज्ञप्तिमा भन्यो।

परिवारले मानिसहरूलाई कुनै पनि भ्रामक वा झुटो समाचारबाट जोगिन आग्रह पनि गरेको छ।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्